Logo

रामबहादुर बमजनको घरमा तीन करोड ३० लाख भेटियो, १५ वटा मोबाइल समेत बरामद

रामबहादुर बमजनको घरमा तीन करोड ३० लाख भेटियो, १५ वटा मोबाइल समेत बरामद



काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । बमजनको घरबाट प्रहरीले हालसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ भेटाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँ मात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ ।

‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो । तीन करोड ३० लाख ७५ हजार रहेछ । सबै हजार हजारको गड्डीहरू भेटिएको छ । अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ । डलरलगायत अरू पनि करेन्सी छन्,’ ब्युरो प्रमुख किरण ब्रजाचार्यले सुनाइन् । उनको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ ।

सिआइबी प्रमुख ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन् । आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन् । प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए ।

प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो । बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र दुई चेला गरी चार जनालाई बेपत्ता पारेको, एक जनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन् ।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् । बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ । आफूलाई बमजनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरीपछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ । उक्त मुद्दामा उनलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL