Logo

कर्जा विस्तार नहुँदा ८० प्रतिशतभन्दा तल झर्यो सीडी रेसियो, माघमा ब्याजदर अझ घट्ने संकेत

कर्जा विस्तार नहुँदा ८० प्रतिशतभन्दा तल झर्यो सीडी रेसियो, माघमा ब्याजदर अझ घट्ने संकेत



काठमाडौं । कर्जा विस्तार नहुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत भन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० पुर्याएर कर्जा विस्तार गर्न सक्ने व्यवस्था गरेको भएपनि कर्जा विस्तार नहुँदा बैंकहरुको सीडी तल झरेको हो ।

केही समययता बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारभन्दा निक्षेप संकलन उच्च हुँदा बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा तल झरेको हो । हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ७९.०७ प्रतिशतको हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डिल्लिराम पोखरेल बताउँछन । ‘बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो घट्दो छ,’ उनले भने, ‘पुस २२ गतेसम्म आउँदा वित्तीय क्षेत्रको सीडी रेसियो ७९.०७ प्रतिशतको हाराहारीमा रहेको छ ।’

पुस १९ गते बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८०.०५ प्रतिशत थियो । यसैगरी, पुस १८ गते बैंकको यस्तो रेसियो ८०.०९ प्रतिशत थियो । बैंकमा उच्च तरलता हुँदा आगामी दिनमा बैंकको ब्याजदर अmझ घट्ने सम्भावना देखिन्छ । यस अघिका दिनमा मुद्दती निक्षेपको ब्याजदर लगातार घटाउँदै आएको बैंकहरुले माघ महिनाको लागि पनि ब्याजदर घटाउने सम्भावना रहेको सम्बद्ध बैंकरहरु बताउँछन ।

गत साउन महिनाबाट नै निक्षेपको ब्याजदर घटाउँदै आइरहेको बैंकहरुको आधार दर (बेसरेट) पनि पछिल्लो समय घट्दो अवस्थामा रहेको छ । पुस महिनामा १३ वटा वाणिज्य बैंकको आधार दर एकल अंकमा झरिसकेको छ भने अन्यको पनि बेसरेट १० प्रतिशत देखि ११ प्रतिशतको हाराहारीमा नै रहेको छ ।

आगामी महिना मुद्दती निक्षेपको ब्याजदर अझ घट्दा बैंकको बेसरेट पनि घट्ने नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबि बैंकका कार्यकारी निर्देशक सुनिल केसी बताउँछन । ‘बैंकको ब्याज पहिलेको भन्दा घट्दै गइरहेको छ’ उनी भन्छन, ‘बैंकहरुले सोचे जस्तो कर्जा लगानी हुन नसको कारण आगमी महिना ब्याजदर अझ घट्न सक्छ ।’

कर्जा असुलीमा समस्या देखिएपछि पछिल्लो समय बैंकहरु एग्रेसिभ भएर कर्जा लगानी गर्न पछि हटेका छन । जसको कारण कर्जा लगानी कम भएको केसीको बुझाई छ । ‘अहिले बैंकको खराब कर्जा बढ्दो छ,’ उनी भन्छन, ‘जसको कारण बैंकहरु स्वतन्त्र भएर कर्जा लगानी गर्न चाहँदैनन् ।’ बैंकको ऋण उठाउन नसक्दा बैंकको खराब कर्जाको रेसियो लगातार उकालो लागेको छ ।

यसैगरी, घरजग्गा तथा सेयर बजारको कारोबार केही बढ्न थालेको भएता पनि अन्य क्षेत्रमा मन्दी कायम नै छ । सरकारी खर्च पनि बढ्न सकेको छैन भने निर्माणको काम प्रायः ठप्प बनेको छ । सिमेन्ट उधोगलगायत निर्माणका उधोगहरु पनि क्षमता भन्दा कममा चलिरहेका छन् । जसको कारण बजारमा कर्जाको माग कम भएको बैंकर केसी बताउँछन । पछिल्लो सयम पर्यटन तथा आइटी क्षेत्रमा भने सुधार देखिएको छ । जसको कारण आगामी दिनमा कर्जाको माग बढ्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL