काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचीकृतमध्ये धेरै हाइड्रोपावर कम्पनीहरुको आम्दानी नहुँदा सेयरधनीले लाभांश नपाउने भएका छन् । आम्दानीभन्दा खर्च बढी हुँदा धेरै हाइड्रो कम्पनीले लाभाशं नबाँड्ने घोषणा गरिरहेका छन् । सञ्चालनमा रहेको अधिकांश हाइड्रोपावर कम्पनीको अंकित सेयर मूल्यभन्दा नेटवर्थ कम भएको कारण धेरै कम्पनीले लगानीकर्ताको हात खाली बनाएका हुन् ।
हाल नेप्सेमा सूचीकृत भएर ९१ हाइड्रोपावर कम्पनी सञ्चालनमा रहेका छन् । जसमध्ये ६३ वटाले साधारण सभा घोषणा गरेका छन् भने बाँकी २७ कम्पनीले साधारण सभा नै बोलाउन सकेका छैनन् । साधारण सभा बोलाउने १३ कम्पनीले मात्र गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने भएका छन । बाँकी ४९ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने गरि साधारण सभा बोलाएका छन ।
यसैगरी, साधारण सभा समयमा गर्न नसकेका केहि कम्पनीले आफ्ना लगानीकर्तालाई समयमा साधारण सभा गर्न नसकेको सूचना नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जानकारी गराएका छन । नेप्से श्रोतका अनुसार हालसम्म ४ वटा जलविद्युत कम्पनीले समयमा साधारण सभा गर्न नसक्ने जानकारी गराएका छन् । बलेफी हाइड्रोपावरलगायत कम्पनीले समयमा साधारण सभा गर्न नसकेको भन्दै नेप्सेद्धारा आफ्ना लगानीकर्तालाई सूचित गराएका छन् ।
जलविद्युत कम्पनीको आम्दानीभन्दा खर्च धेरै भएको कारण यस्ता कम्पनीले लगानीकर्ताको हात खाली बनाएको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन । हाल सञ्चालनमा रहेका अधिकांश कम्पनीको आम्दानीभन्दा वित्तीय खर्च धेरै छ । विजुली बेचेर नाफा कमाउने कम्पनी पनि धेरै नभएको कारण यसको असर लगानीकर्तामा पनि परेको हो । हाल नेप्सेमा सूचीकृत केही कम्पनीको नाफा आम्दानी नै शून्य छ । हाल नेप्सेमा सूचीकृत केही जलविद्युत कम्पनीका आयोजना निर्माणकै क्रममा रहेका छन । यस्ता कम्पनीले पनि लाभांश वितरण गर्न नसकेका हुन् ।
लाभांश नदिने कम्पनी
साधारण सभा घोषणा गरेर लाभांश वितरण नगर्ने निर्णय गरेका कम्पनीहरु मिड सोलु, माथिल्लो मैलुङ खोला, मनकामना इन्जिनियरिङ, अप्पर स्याङ्गे, नेसनल हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी, अपि पावर, ङादी ग्रुप पावर कम्पनी, खानि खोला हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर , सिनर्जी पावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनी रहेका छन ।
यसैगरी, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनियन हाइड्रोपावर, सान्जेन जलविद्युत, लिवर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, सामलिङ पावर, न्यादी हाइड्रोपावर, बुद्धभूमि नेपाल, ग्रीन भेन्चर्स, मध्य भोटेकोशी, बलेफी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत् र हिमालयन हाइड्रोपावर कम्पनी रहेका छन । श्वेतगंगा हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रीक, राप्ती हाइड्रो, सयपत्री हाइड्रोपावर–३५, इस्टर्न हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, मकर जितुमाया, सुरी हाइड्रोपावर, दोल्ती पावर कम्पनी, मेन्छियाम हाइड्रोपावर, र बाराही हाइड्रोपावर कम्पनीले पनि लगानीकर्ताको हाल खाली बनाएका छन् ।
यसैगरी, एसियन हाइड्रोपावर, सगरमाथा जलविद्युत, माईखोला हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट, इङवा हाइड्रोपावर, मोदी इनर्जी लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट, कुथेली बुखरी स्मल हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीले पनि लाभांश वितरण नगर्ने भएका छन् ।