Logo

कमिसन बढाउन ग्यास बिक्रेताको माग, लगानी अनुसारको प्रतिफल हुनुपर्ने जिकिर

कमिसन बढाउन ग्यास बिक्रेताको माग, लगानी अनुसारको प्रतिफल हुनुपर्ने जिकिर



काठमाडौं । ग्यास बिक्रेताहरुले ग्यासमा आफूहरुले पाइरहेको कमिसन बढाउनुपर्ने माग गरेका छन् । ग्यास बिक्रेता महासंघ नेपालको दशौं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष चन्द्रबहादुर थापाले ऋणको ब्याज लगायत अन्य लागत दोब्बर बढीसक्दा पनि कमिशन नबढेको भन्दै बिक्रेताको उचित माग सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् । व्यवसायी निराश बनिरहेको, ब्याज कसरी तिर्ने, व्यवसाय कसरी गर्ने चिन्ता व्यवसायीमा बढेको भन्दै उनले समयमै यस विषयमा सम्बोधन नभए बिक्रेताहरु खाडी मुलुक भासिन बाध्य हुनुपर्ने गुनासो गरे ।

अस्तव्यस्त रहेको ग्यासको कारोबारलाई व्यवस्थित बनाउन बिक्रेता प्रमाणीकरण हुनुपर्ने अध्यक्ष थापाले बताए । महासंघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्यालले काम गर्ने अवस्था नभएर बिक्रेताहरु दिनप्रतिदिन घटिरहेकोप्रति चिन्ता व्यक्त गर्दै बिक्रेतालाई कमिसन कम भएको, चेक बाउन्स भएर समस्या बढेको लगायत विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास उद्योगी एवं बिक्रेताहरु र नेपाल आयल निगम सम्मिलित सबै पक्ष एकै टेबुलमा बसेर छलफलमार्फत निकास निकाल्नुपर्ने बताए ।

उपभोक्ता अधिकारकर्मी माधव प्रसाद तिमल्सिनाले ग्यासको विधि सम्मत, मर्यादित, सम्मानित, गुणस्तरीय बिक्रीवितरणको अपेक्षा गरिएको बताए । एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीले ग्यासमा लगानी अनुसारको प्रतिफल हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । संघका अध्यक्ष शिव घिमिरेले बाह्य ढुवानीमा ५ प्रतिशत टीडीएस लगाएर आतंक सिर्जना गर्ने काम भइरहेको बताए । अध्यक्ष घिमिरेले आन्तरिक राजस्व विभागले कर आतंक बन्द गर्नुपर्ने, डिलर प्रमाणिकरण हुनुुपर्ने, एलपी ग्यासबाट हुने धनजनको क्षति रोक्न जनचेतना अगाडि बढाउनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले वाणिज्यमन्त्रालयले व्यापारी, व्यवसायीलाई संरक्षण गरिदिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कोभिड–१९ पछि धेरै क्षेत्रमा असर परेको भन्दै अहिले अर्थतन्त्र र व्यवसाय संकुचित भएको बताए । उनले राजनितीले सबैलाई असर गरेको भन्दै सबैको मनोबल उच्च बनाउने दिशामा सरकार लाग्नुपर्ने बताए । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले विज्ञहरुलाई राखेर उपभोक्तालाई कम मूल्य पर्ने र व्यापारीलाई बढी नाफा दिलाउने विषयबारे निष्कर्ष निकाल्नुपर्ने बताए ।

उनले जनचेतना र सुरक्षाका विषयमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा वाणिज्य सचिव नारायण शर्मा दवाडीले ग्यासको कारोबारमा भएका समस्याहरु छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताए । उनले निजी क्षेत्रले लगानीको प्रतिफल पाउन भइरहेको अबरोध के–के कारणले हो भनेर अध्ययन गर्नु आवश्यक रहेको बताए । सहभागीहरुले ग्यासको प्रयोग गरिहँदा त्यसको सुरक्षाको पाटोमा बढी ध्यान दिएर दुर्घटना न्यूनिकरणतर्फ सबै लाग्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL