Logo

अमेरिकी चुनावमा खर्च जुटाउने यस्तो शैली, भाषण र क्याम्पेन बलिया स्रोत

अमेरिकी चुनावमा खर्च जुटाउने यस्तो शैली, भाषण र क्याम्पेन बलिया स्रोत


बिजखबर संवाददाता
0
Shares

चुनावको समय भनेपछि नेपालका उद्योगी तथा व्यापारीलाई टाउको दुखाई सुरु हुन्छ । फरक फरक राजनीतिक दलका कार्यकर्ता बिल सहित आफ्नो इच्छा अनुसारको रकम असुल्न यीनै उद्योगी व्यापारीको कार्यालय धाउँछन् ।

पैसा दिए त ठिकै छ, यसो नभए ज्यान मार्नेसम्मका धम्की सुन्नुपर्ने उद्योगीको सधै गुनासो रहन्छ । त्यतिमात्र कहाँ हो , अवैध रुपमा आर्जन गरिएको पैसा यहिं चुनावी समयमा सबैभन्दा बढी प्रयोग हुन्छ नेपालमा ।

यतिबेला संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय चुनावी अभियानको व्यापक सरगर्मी छ । संसारकै शक्ति राष्ट्र भएकोले यो चुनावमा विश्वका सबै देशले गम्भिर दृष्टि लगाएका छन् । डेमोक्रेटिकका तर्फबाट राष्ट्रपति उम्मेदवार हिलारी रोधम क्लीण्टन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प आफ्नो पक्षमा मतदाता ल्याउन अथक प्रयास गरिरहेकै छन् ।

हरेक दिन फरक फरक राज्यका सभामा पुग्नु, मतदातालाई भेट्नु, नयाँ कार्यक्रमको तयारीमा जुट्नु यी दुवै उम्मेदवारको व्यस्त दैनिकी बनेको छ अहिले । यी सबैका लागि खर्च जुटाउनु पनि आफैमा ठूलो चुनौती हो ।

नेपालभन्दा फरक – अमेरिकी चुनावमा पनि उद्योगी व्यापारीको प्रशस्त रकम प्रयोग हुन्छ । बैङ्क, बहुराष्ट्रिय कम्पनीहरुले चुनावमा आफ्नो समर्थन प्राप्त उम्मेदवारलाई ठूलो आर्थिक सहयोग गरिरहेका हुन्छन् । क्लीण्टन यस्तो सहयोग पाउनेमा निकै अघि छन् । तर, यस्ता कर्पोरेट संस्थाबाट प्राप्त हुने रकम व्यक्तिगत मागको आधारमा भने हुँदैन । उनीहरुले आयोजना गर्ने सभामा पुगेर गरेको भाषणबापत त्यस्ता कर्पोरेट हाउसले उम्मेदवारलाई रकम उपलब्ध गराउँछन् । क्लीण्टन दम्पत्तिले गत बर्ष भाषणबाट मात्रै करिब सत्तरी लाख डलरखर्च जम्मा गरेका थिए । यो उनीहरुको एक बर्षको आम्दानीको ६० प्रतिशत हिस्सा हो ।

कर्पोरेट हाउसको पैसा लगानी भएको भन्दै क्लीण्टनका प्रतिद्वन्द्वी ट्रम्पले बारम्बार उनलाई वालस्ट्रिटको चुनावी अभियान भनेर समेत होच्याउने गर्छन् । वाल स्ट्रिट क्लीण्टनलाई चुनावी अभियानमा निकै ठूलो सहयोग गरेको छ ।

यसबाहेक राष्ट्रपतीय उम्मेदवारले सबैभन्दा ठूलो खर्च जुटाउने माध्यम भनेको क्याम्पेनमार्फत ‘फण्ड कलेक्सन’ गर्ने हो । यस्तो क्याम्पेमा उम्मेदवारले आफ्नो खर्चको लागि मतदातालाई आह्वान गर्छन् । अनलाइनमात्र त्यस्तो फण्ड जुटाउने काम गरिन्छ । यस्ता क्याम्पेनबाट प्राप्त हुने रकमको पारदर्शीताको लागि अमेरिकाको सङघीय निर्वाचन समितीले हरेक रकमको हिसाब किताब बुझाउन निर्देशन समेत दिएको छ ।

क्याम्पेनबाट रकम जम्मा गर्नेमा पनि क्लीण्टन नै अघि छन् । गत मार्च महिनासम्म उनले यस्तो क्याम्पेनबाट १३ करोड डलर भन्दा बढी रकम सङ्कलन गरिसकेको थिइन् । उनलाई सबैभन्दा धेरै सहयोग गर्नेमा कर्पोरेट हाउस, लगानीकर्ता, र वकिलहरु बढी रहेका छन् ।

तर, क्लीण्टनको तुलनामा ट्रम्पले भने यस्तो अभियानबाट निकै कम मात्र रकम जुटाउन सफल भएका छन् । करिब अढाइ करोड डलर रकम उनले मार्चको मध्यजसम्म जुटाएका थिए । स्वास्थ्य क्षेत्रका व्यक्ति तथा घरजग्गा लगानीकर्ता उनको समर्थनमा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्