Logo

जीवन बीमा कम्पनीले ५ महिनामा संकलन गरे पौने ६२ अर्ब, मंसिरमा मात्रै उठ्यो १२ अर्ब

जीवन बीमा कम्पनीले ५ महिनामा संकलन गरे पौने ६२ अर्ब, मंसिरमा मात्रै उठ्यो १२ अर्ब



काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को मंसिर महिनासम्म नेपालमा संचालिच जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधि अर्थात पछिल्लो ५ महिनामा १४ जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख ५४ हजार बढी सक्रिय बीमालेखमार्फत उक्त शुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफले आर्जन गरेको छ । यो कम्पनीले पछिल्लो ५ महिनामा १६ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क संकलन आर्जन गरेको हो । यस्तै धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा भने नेशनल लाईफ इन्स्योरेन्स छ । कम्पनीले पछिल्लो ५ महिनामा ७ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

बीमा प्राधिकरणका अनुसार क्रमशः लाईफ ईन्स्योरेन्स कर्पाेरेशनले ६ अर्ब ९२ करोड, हिमालय लाईफले ६ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेका छन् । यो अवधिमा सबैभन्दा कम प्रिमियम सन नेपाल लाइफले संकलन गरेको छ । उसले पछिल्लो ५ महिनामा जम्मा १ अर्ब ४४ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको हो ।

यस्तै पछिल्लो ५ महिनामा यी १४ जीवन बीमा कम्पनीहरुले १० अर्ब ९७ करोड ३२ लाख रुपैयाँ बराबरको नयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । यस्तै यसै अवधिमा यी कम्पनीहरुले ५० अर्ब ७७ करोड रुपैयाँ नविकरण मार्फत बीमा शुल्क आर्जन गरेका हुन् ।

यता मंसिर महिनामा मात्रै भने १४ बीमा कम्नपीहरुले १२ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस्तो बीमाशुल्क मंसिरमा मात्रै बीमाकम्पनीहरुले ४ लाख ३३ हजार बीमालेख बेचेर आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL