Logo

भारतले सिधैं २० करोडका योजना बाँड्ने सम्झौता लज्जास्पद र राष्ट्रघाती : झलनाथ खनाल

भारतले सिधैं २० करोडका योजना बाँड्ने सम्झौता लज्जास्पद र राष्ट्रघाती : झलनाथ खनाल



काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ का नाममा आश्चर्यजनक सम्झौता भएको टिप्पणी गरेका छन् ।

नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू नेपालमा सोझै बाँड्न सकिने गरी भएको सम्झौताप्रति उनले आपत्ति जनाएका छन् । सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हितविरोधी सम्झौता भएको उनको भनाइ छ ।

‘गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीलाई स्तब्ध, आश्चर्यचकित र क्रुद्ध बनाएको छ । विगत पञ्चायतकालदेखि नै हाम्रो गौरवमय मातृभूमिको स्वतन्त्रता र सार्वभौमसत्तालाई सीमित बनाउने षड्यन्त्रहरू हुँदै आएका थिए’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘प्रचण्ड प्रधानमन्त्री भएका बेलामा त्यस्ता कुरा सच्चाइने छन् भन्ने आश जनताले गरेका थिए । तर उहाँकै नेतृत्वको गठबन्धन सरकारले एउटा विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागु गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ ।’

खनालले यसलाई नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड समेत भएको बताएका छन् । उक्त सम्झौता तुरुन्त रद्द नगरिए नेपाली जनता सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्