Logo

काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, संयुक्त आयोगको सातौं बैठक आजै

काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, संयुक्त आयोगको सातौं बैठक आजै



काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर विहिबार बिहान काठमाडौं आएका हुन् । विदेशमन्त्री जयशंकरको स्वागतका लागि परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ । सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्नेछ ।

बैठकमा सहभागी हुन भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायतका अधिकारी पनि आएका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगाना सहभागी हुनेछन् । त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि बैठकमा सहभागी हुनेछन् ।

जयशंकरको नेपाल भ्रमणको तालिका

विहिबार बिहान १० बजे काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यसपछि उनी होटल याक एन्ड यतीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् ।

त्यस्तै विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने तालिका रहेको छ । त्यस्तै जयशंकरले परराष्ट्रमन्त्री साउदले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । शुक्रबार बिहान भने पशुपतिनाथको दर्शन गरेर दूतावासको कार्यक्रममा सहभागी हुँदै दिउँसो १२ बजे उनी नयाँदिल्ली फर्कने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL