Logo

भारतीय विदेशमन्त्री जयशंकर विहिबार काठमाडौँ आउदै, १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने

भारतीय विदेशमन्त्री जयशंकर विहिबार काठमाडौँ आउदै, १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने



काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर विहिबार काठमाडौँ आउने भएका छन् । परराष्ट मन्त्रालयले विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आउन लागेका हुन् ।

यहि अवसरमा नेपाल र भारतका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ । सो अवसरमा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलबीच विहिबार सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

त्यस्तै प्रसारण लाइन र ऊर्जा सम्झौताको तयारी स्वरूप नेपाल भारतका ऊर्जा मन्त्रालयका सह–सचिव स्तरीय बैठक आज काठमाडौँमा हुँदैछ ।

विदेशमन्त्री जयशंकरसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउँदै छन् । भारतीय वायुसेनाको विशेष विमानबाट विदेशमन्त्री जयशंकर सहितको टोली भोलि बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् ।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाटसँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् ।

विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

त्यस्तै परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रि भोजमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL