Logo

बालकुमारी घटनाको छानबिन गर्न सरकारले बनायो उच्‍चस्तरीय आयोग, पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्व

बालकुमारी घटनाको छानबिन गर्न सरकारले बनायो उच्‍चस्तरीय आयोग, पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्व



काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्‍चस्तरीय जाँचबुझ समिति आयोग गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) अन्तर्गत उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले पौडेलको नेतृत्वमा छानविन समितिको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य रहेको जानकारी दिएकी छन् । आयोगलाई एक महिनाको कार्यादेश दिएको र आयोगले आजदेखि नै काम शुरु गर्ने प्रवक्ता शर्माले बताएकी छन् ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकले बालकुमारी घटनामा उच्चस्तरीय छानबिन आयोग बनाउने निर्णय गरेका थिए । घटनाको छानबिन गर्न यस अघि नै गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

घटनाको निष्पक्ष छानविन गर्न गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई फिर्ता बोलाएको छ भने इपीएस शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी, ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ सहायक प्रहरी निरीक्षक बोधराज दनुवारलाई निलम्बन गरेको छ । गत शुक्रबार भएको सो घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो ।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो । सो घटनामा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् । प्रदर्शनका क्रममा घाइते भएका राउतको किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL