Logo

साना उद्योगको संरक्षणमा प्रधानमन्त्रीको प्रतिबद्धता, घरेलु उद्योग अर्थतन्त्रको मेरूदण्ड

साना उद्योगको संरक्षणमा प्रधानमन्त्रीको प्रतिबद्धता, घरेलु उद्योग अर्थतन्त्रको मेरूदण्ड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार बालुवाटारस्थित निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।सो अवसरमा उनले यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको बताए । साथै आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने जानकारी दिए । ‘मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन तत्काल के के गर्न सकिन्छ’ उनले भने ‘यी विषयमा छिट्टै निजी क्षेत्रसँग बसेर विस्तृत रूपमा छलफल गर्ने सोंच छ ।’

सो अवसरमा महासंघका अध्यक्ष श्याम गिरीले गत वर्षको भूकम्पबाट ३२ जिल्लाका १७ हजार भन्दा बढी लघु, घरेलु तथा साना उद्योगी पूर्ण रूपमा क्षत विक्षत भएको बताए । साथै ५५ जना भन्दा बढी उद्योगी हताहत भएकोले वास्तविक पीडितसाना उद्यमीको पहिचान गरी उद्यमीलाई ५ लाख अनुदान उपलब्ध गराउन आग्रह गरे ।

औद्योगिक नीति अनुसारको ऐन तत्कालै जारी भई समयानुकूल परिमार्जन गर्दै जाने परिपाटीको विकास हुन महासंघले आग्रह गर्दै आएको समेत जानकारी दिए । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका’ मा विदेशी बस्तु भन्दा १५ प्रतिशतसम्म महङ्गो भएपनि स्वदेशमै उत्पादित वस्तु खरिद गर्नुपर्ने प्रावधान रहेको भन्दै नेपाली उत्पादनहरूले स्वदेशमै बजार पाउने र मुलुक औद्योगिकरणतर्फ उन्मुख गर्न सो निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन दिन आग्रह गरे ।

गुणस्तरीय वस्तुहरूको निर्यात बृद्धि गर्न सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरूप राष्ट्रियस्तरको एउटा निर्यात गृहको स्थापनाका लागि आवश्यक स्थान तथा बजेटको व्यवस्था गर्न आग्रह गरे ।

प्रधानमन्त्री समक्ष महासंघका अध्यक्ष श्याम गिरीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बधाई एवं शुभकामना दिएको थियो । प्रतिनिधिमण्डलमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष वासुदेव गिरी, आङदेण्डी शेर्पा, लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षहरू विष्णु लुइटेललगायत थिए ।

प्रतिक्रिया दिनुहोस्