काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई आगामी दिनमा सार्वजनिक पद धारण गर्न अयोग्य हुनेगरी कारबाहीका लागि सिफारिस गर्न माग गरिएको छ । हमालमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको र लेखा समिततिले बोलाउँदा समेत गैरजिम्मेवार तरिकाले अपहेलना गर्दै आफ्नो भ्रष्टाचार छताछुल्ल हुने डरले अनुपस्थित भएको भन्दै आगामी दिनमा सार्वजनिक पद धारण गर्न अयोग्य हुनेगरी कारबाही गर्नुपर्ने सांसद योगेश भट्टराईले बताए ।
संसदको सार्वजनिक लेखा समितिमा सेबोन अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै खेद प्रकट गर्दै समितिले बैठक शुरू गरेको थियो ।
‘अध्यक्ष हमाल विना जानकारी अनुपस्थित हुनु यो समिति र आम नागरिकप्रतिको गैर जिम्मेवारी भएको हाम्रो ठहर छ,’ समितिका सभापति पोखरेलले भने । समितिले आजको बैठक अध्यक्ष हमालले विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर आर्थिक चलखेल गरेकोबारे बोलाएको थियो ।