काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफुखुसी प्रिमियम मूल्यमा आईपीओ ल्याउन अनुमति दिएर बदमासी गरेपछि सो सम्बन्धमा संसदको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ । पछिल्लो समय बोर्ड अध्यक्ष हमालले आर्थिक चलखेल गरी जस्तोसुकै कम्पनीलाई पनि प्रिमियम मूल्यमा आईपीओ ल्याउन दिएको तथा बीमा कम्पनीहरुले स्थापना गर्दा नै संस्थापक सेय धनीकै मूल्यमा सर्वसाधारलाई समेत आईपीओ बिक्री गर्छु भनेर छुट्याइएको कोटाको सेयरलाई समेत प्रिमियम मूल्यमा बिक्री गर्न दिएपछि हमाल आर्थिक चलखेलमा लागेको भन्दै विवादित भएका थिए ।
केही समय अघि लेखा समितिले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिँदा बदमासी भएको भन्दै धितोपत्र बोर्ड र बीमा प्राधिकरणसँग राय माग गरेको थियो । त्यसपछि पनि अध्यक्ष हमालले आफ्नो स्वार्थ अनुरुप प्रिमियम मूल्यमा आईपीओ जारी प्रक्रिया अघि बढाएपछि लेखा समितिले यस विषयमा थप चासो बढाएको हो । बीमा ऐन, २०७९ को दफा ४५ (५) अनुसार अनुरुप ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आब्हान गर्दा शेयर अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने छ’ भन्ने स्पष्ट व्यवस्था छ । यसको अर्थ प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य रहेको बीमा कम्पनीको सेयर सर्वसाधारण लगानीकर्तालाई पनि अंकित मूल्यमै अर्थात प्रतिकित्ता एक सय रुपैयाँमा बिक्री गर्नुपर्छ । तर, धितोपत्र बोर्ड र बीमा प्राधिकरणले अर्थ समितिलाई आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कम्पनी ऐन अनुुरुप प्रिमियम मूल्यमा आईपीओ ल्याउन अनुमति दिइएको जवाफ पठाएको छ ।
‘बीमा एनेमा स्पष्टसँग लेखिएको छ ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आब्हान गर्दा शेयर अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने छ’ तर कसरी उनीहरुले कम्पनी ऐन अनुरुप प्रिमियम मूल्यमा सेयर बिक्री गर्न दिन मिल्छ,’ एक कानून विज्ञले भने, ‘अहिले जसरी हचुवाको भरमा धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिइएको छ यो सरासर लुट हो ।’
अर्थ समितिले घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिँदा समेत बदमासी भएको भन्दै जवाफ माग गरेको थियो । तर, अर्थ समितिको प्रश्नमा धितोपत्र बोर्डले गोलमोटल तरिकाले जवाफ पठाएको सम्बद्ध स्रोतले जानकरी दिएको छ । हमालले आर्थिक चलखेल गरि प्रिमियम मूल्यमा आईपीओ ल्याउन स्वीकृति दिएपछि उनीमाथि कारबाहीको मागसमेत गरिएको छ । केही लगानीकर्ताले उनले आर्थिक अपराध गरेको र उनीमाथि कारबाही हुनुपर्ने मागसमेत गरेका छन् । सोहीअनुरुप लेखा समितिले अध्यक्ष हमालमाथि छानविन गरी कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तत्काल सिफारिस गर्नुपर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।