Logo

हुथी विद्रोहीको आतंकका कारण कच्चा तेलको भाउ बढ्यो, नेपालमा पनि असर पर्ने

हुथी विद्रोहीको आतंकका कारण कच्चा तेलको भाउ बढ्यो, नेपालमा पनि असर पर्ने



काठमाडौं । पछिल्लो समय इजरायल–प्यालेष्टाइन द्धन्द्धका कारण विश्वमा विभिन्न प्रभावहरु देखिएका छन् । यमनका हुथी विद्रोहीहरूले इजरायललाई गाजामा आक्रमण रोक्न चेतावनी दिदैं आक्रमण नरोकिएसम्म विश्वकै प्रमुख सामुद्रिक मार्गमा अवरोध गर्ने घोषणा गरेका छन् । जसअनुरुप नै हुथी बिद्रोहीले लाल सागरमा व्यावसायिक जहाजहरूलाई निशाना बनाइरहेका छन् । जसका कारण त्यहाँ यातायात अवरुद्ध भएको छ । यसबाहेक अमेरिकी सेनाले इराकमा पनि आक्रमण गरेको छ ।

पछिल्लो द्धन्द्धको यी घटनाले भने कच्चा तेलको मूल्य उकालो लागेको छ । यो साता अमेरिकी बेन्चमार्क प्रति ब्यारेल ७५ डलर नाघेको छ, जुन तीन साताको उच्च स्तर हो । गत साता यो तीन प्रतिशतले बढेको थियो । यो अक्टोबर यता कच्चा तेलको मूल्यमा भएको उच्च साप्ताहिक वृद्धि हो । कच्चा तेलको मूल्यमा भएको भर्खरको वृद्धिले यस वर्षको गिरावटलाई ठूलो मात्रामा क्षतिपूर्ति भएको छ । जबकि यो वर्ष करिब पाँच प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

कच्चा तेलको मूल्य

बुधबार प्रारम्भिक व्यापारमा तेलको मूल्यमा केही गिरावट आएको छ । ब्रेन्ट क्रुड ०.१९ प्रतिशत वा १५ सेन्टले घटेर प्रति ब्यारेल ८०.९२ डलरमा कारोबार भइरहेको छ । त्यस्तै डब्ल्यूटीआई कच्चा तेल पनि ०.२९ प्रतिशत वा २२ सेन्टले घटेर ७५.३५ डलर प्रति ब्यारेलमा छ । गत वर्ष युक्रेनमा रुसले आक्रमण गरेपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर पुगेको थियो, जुन सन् २००८ यताकै उच्च स्तर हो । त्यसयता धेरै उतारचढाव आए ।

नेपालमा प्रभाव

विश्व बजारमा कच्चा तेलको मूल्यमा वृद्धि हुँदा त्यसको स्वभाविक असर नेपालमा पनि पर्ने गर्दछ । नेपालले कच्चा तेल सीधै खरीद नगरेपनि भारतबाट प्रशोधित तेल खरीद गर्दा भारतले कच्चा तेलको मूल्यमा वृद्धिअनुसार नेपाललाई दिने मूल्यमा पनि वृद्धि गर्ने गर्छ । जसले नेपालमा पनि इन्धनको मूल्यवृद्धि हुने अवस्था आउँछ ।

तर, पछिल्लो समय नेपाल आयल निगम फाइदामा रहेको र भारतले हरेक १५ दिनमा मूल्य पठाउने भएकाले जनवरी एकसम्म मूल्य हेरफेरको सम्भावना भने तत्काल नरहेको नेपाल आयल निगमका एक अधिकारीले जानकारी दिए । तर, हुथी विद्रोहीहरूको आक्रमण नरोकिएमा र कच्चा तेलको भाउ निरन्तर वृद्धि भइरहे नेपालमा पनि इन्धनको मूल्यमा वृद्धि हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL