Logo

कृषिप्रधान देशको दुर्दशा : उत्पादनका लागि मल, खानका लागि अन्न आयात, के भइरहेछ नेपालमा ?

कृषिप्रधान देशको दुर्दशा : उत्पादनका लागि मल, खानका लागि अन्न आयात, के भइरहेछ नेपालमा ?



काठमाडौं । कृषिप्रधान देशका रुपमा रहेको नेपालको कृषि क्षेत्र थप जर्जर बन्दै गएको छ । काम गर्नसक्ने जनशक्ति विदेशिदा र देशभित्रको उत्पादनले बजार र सही मूल्य नपाउँदा नेपालमा कृषिप्रतिको आकर्षण घटिरहेको छ । जसका कारण कृषिप्रधान देश बर्षेनी खर्बाैं रुपैयाँ बराबरको भएपनि तरकारी, फफूलदेखि खाद्यान्नसम्म छिमेकी देशहरुबाट आयात भइरहेको छ ।

सरकारले नेपालका कृषि उत्पादकत्व बढाउन विभिन्न प्रकारका उपायहरु अवलम्बन गरिरहेको छ । बैंक वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रलाई प्राथमिकतामै राखेर कर्जा प्रवाह हुने गरेको छ । तर, त्यसको प्रत्यक्ष प्रभाव अझै पनि नदेखिएको विदेशबाट आयातित खाद्यान्नको तथ्यांकले देखाउँछ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को ५ महिना (साउन–मंसिर)मा मात्रै नेपालले कृषि उत्पादन बढाउनकै लागि भन्दै १५ अर्ब १७ करोड रुपैयाँ बराबरको रसायनिक मल मात्रै आयात गरेको छ । खेतीका लागि नेपाली कृषहरुलाई बाँड्नकै लागि भन्दै यस अवधिमा नेपालले यस्तो मल १९ करोड ९७ लाख किलो मल आयात गरेको हो ।

यसरी मल आयात गर्दा गर्दै पनि यहि अवधिमा करिव १८ अर्ब रुपैयाँ बराबरको अन्न आयात पनि भएको छ । भन्सार विभागकै तथ्यांकलाई आधार मान्दा यस अवधिसम्म नेपालले १७ अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको अन्न आयात गरेको हो । यति मात्रै होईन नेपालले यसै अवधिमा खाद्य पदार्थभित्रै पर्ने तेल र बोसोमात्रै २२ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात गर्दा १४ अर्ब ९७ करोड रुपैयाँको तरकारी, ११ अर्ब ४० करोड बराबरको खाद्य पदार्थको कच्चा पदार्थ र ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको फलफूल आयात गरेको देखिन्छ ।

यसै अवधिमा नेपालले ४ अर्ब ७८ करोड रुपैयाँ बराबरको चिया कफी, ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको कपास, ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको अन्नबाट वनेका खाद्य वस्तु, २ अर्ब ४२ करोड रुपैयाँ बराबरको उन, २ अर्ब ३७ करोड रुपैयाँ बराबरको काठ, २ अर्ब २० करोड रुपैयाँ बराबरको सुर्ती, १ अर्ब २९ करोड रुपैयाँ बराबरको चिनी, १ अर्ब २१ करोड रुपैयाँ बराबरको अण्डा र डेरी उत्पादन आयात भएको देखिन्छ ।

यसरी नेपालले पछिल्लो ५ महिनामा मात्रै विश्वका धेरै देशबाट करिव ९४ अर्ब रुपैयाँ बढीको खाद्यान्न तथा कृषि उपजको आयात गरेको छ । यी सबै वस्तुको आयातको तथ्यांकले नेपालको कृषि क्षेत्रलाई गिज्याईरहेपनि सरकारी देखावटी नीतिगत व्यवस्था र तदारुकताले सकारात्मक परिणाम दिन सकेको छैन ।

यसरी आयात हुने अन्नमा नेपालले चालु आर्थिक बर्षको ५ महिनामा १ अर्ब १६ करोड रुपैयाँ बराबरको गहुँ, ८९ लाख ३३ हजार रुपैयाँ बराबरको जौ र ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको मकै आयात गरेको छ । यस्तै यसै अवधिमा नेपालले ८ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बराबरको धान चामल, २० हजार रुपैयाँ बराबरको जुनेलो, ३४ करोड १८ लाख रुपैयाँ बराबरको कोदो, ६३ लाख ७२ हजार रुपैयाँ बराबरको चिनु आयात गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्