काठमाडौं । नेपाल धितोपत्र बोर्डको संचालक समितिमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने विषयमा संचालकहरुले विरोध जनाएपनि अध्यक्ष हमालले भने जसरी पनि ल्याउने भन्दै आफु अनुकुल माइन्युट गराएका छन् । बैठकबाट धेरैजसो संचालकहरु बाहिरिएपछि अध्यक्ष हमालले आफुअनुकुल माइन्युट गर्न लगाएर संचालकको घरघरमा हस्ताक्षरका लागि पठाउन लागेको बोर्ड स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष हमालले ठूलो आर्थिक चलखेलमा शक्तिकेन्द्रलाई रिझाएर जसरी पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स ल्याउन लागेपछि थप अध्ययनका लागि भन्दै अर्थमन्त्रालयले फाइल फिर्ता पठाएको थियो । सोही विषयमा छलफल गर्न बुधबार राखिएको बैंठकमा नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गरेका सुरकृष्ण बैद्य उपस्थित नै भएन् भने नेपाल राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने संचालक डा. प्रकाशकुमार श्रेष्ठले अहिलेको अवस्थामा नयाँ स्टकको लाइसेन्स जारी प्रक्रिया रोक्नुपर्ने राय राखेर बैंठकबाट बाहिरिएका थिए । यस्तै आईक्यानकोतर्फबाट प्रतिनिधित्व गर्ने संचालक प्रविनकुमार झाले पनि यस विषयमा अर्थ मन्त्रालयले भनेझै तेस्रोपक्षबाट थप अध्ययन गराउनु पर्ने राय राखेको बैठकमा सहभागी एक संचालकले जानकारी दिए ।
तर, अध्यक्ष हमाल र अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक रितेश शाक्यले भने नयाँ स्टकको लाइसेन्स सम्बन्धमा अर्थ समिति र सर्वोच्च अदालतले क्लियरेन्स दिएकाले सोसम्बन्धमा थप अध्ययन गर्न नपर्ने भन्दै पुनः अर्थ मन्त्रालयलाई पत्र लेख्ने भन्दै प्रक्रिया अगाडि बढाएको उक्त स्रोतले जानकारी दिएको छ । रमाइलो त के छ भने सोमबार नै अर्थमन्त्रालयले थप अनुसन्धान गर्नुभन्दै बोर्डमा फाइल फिर्ता पठाएको थियो । तर, बुधबार अर्थमन्त्रालय बाटै प्रतिनिधित्व गर्ने संचालक शाक्यले नै थप अध्ययन गर्न नपर्नेभन्दै माइन्युटमा हस्ताक्षर गरेर फाइल अघि बढाउनुले घटना थप गम्भिर बनेको उक्त सदस्यले जानकारी दिए । बैंठकमा अन्य सदस्यहरुले नयाँ स्टक लाईसेन्स प्रक्रिया थप अध्ययन गरेर मात्रै अघि बढाउनु पर्ने राय राखेपनि शाक्यले भने हमालको भ्रष्टाचारलाई साथ दिँदै अहिले नै अघि बढाउन मिल्ने बताएको ती सदस्यले जानकारी दिए ।
बोर्ड बैंठकमा तत्काल नयाँ स्टक लाईसेन्सको लागि प्रक्रिया अघि नबढाउने विषयमा छलफल भएपनि पछि अध्यक्ष हमाल र सदस्य शाक्यकै सल्लाह अनुसार अर्थमन्त्रालयलाई पत्र लेख्नेगरि माईनुट तयार गरिएको समेत उक्त स्रोतले जानकारी दिएको छ । हमालले आफु अध्यक्ष हुनका लागि नै स्वार्थ केन्द्रित व्यवसायीक घरानाबाट पैसा उठाएर जसरी पनि स्टक लाइसेन्स र कमोडिटी लाइसेन्स दिने ठेक्का लिएर आएका थिए । यदि हमालले आफ्नो कार्यकालमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउन सकेनन् भने उनीमाथि यसअघि उठाएको पैसाको आर्थिक भार थोपरिने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
‘हमाल आफुले स्टक लाइसेन्स दिनका लागि ठूलो आर्थिक चलखेल गरेर प्रतिवद्धता जाहेर गरेका कारण जसरी पनि दिलाउन लागि परेका छन्,’ उक्त स्रोतले भन्यो, ‘अन्य संचालकहरु हमालले गरेरको भ्रष्टाचारको साक्षी बस्छन कि बस्दैनन् अब त्यो हेर्न बाँकी छ ।’ अर्थ मन्त्रालयले थप अध्ययन गर्नु भनेर पठाएको फाइलमा अध्ययन गर्न नपर्ने भन्दै अध्यक्ष हमालले पुनः पत्र काट्नु भनेको अर्थमन्त्री माथि नै उनले चुनौती दिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।