Logo

नेपाली खेलाडीले अवसर नपाएको आइपिएलमा पैसाको बाढी, ७२ खेलाडी किन्न १० क्लबले खर्चिए ३ अर्ब ७० करोड

नेपाली खेलाडीले अवसर नपाएको आइपिएलमा पैसाको बाढी, ७२ खेलाडी किन्न १० क्लबले खर्चिए ३ अर्ब ७० करोड



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी अक्सनमा १० फ्रेन्चाईजी टिमले पैसाको खोलो बगाएका छन् । जसका कारण यसपटकको आइपएिल अक्सनमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सम्पन्न आइपिएलको खेलाडी अक्सनमा अस्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र स्पेन्सर जोनसन कीर्तिमानी रकममा बिकेका छन् ।

तीन खेलाडीका लागि आइपिएल फ्रेन्चाईजीले ५५.२५ करोड भारु खर्च गरेका छन् । अक्सनमा १० फ्रेन्चाईजीले ७२ खेलाडी २३०.४५ करोड भारु (करीब ३ अर्ब ७० करोड नेपाली रुपैयाँ) मा किनेका छन् । जसमा ३० विदेशी र ४२ भारतीय खेलाडी बिक्री भएका छन् ।

लिलामीमा ७२ खेलाडी बिक्री भएका थिए जसमा २६ बलर र २५ अलराउन्डर थिए । बलरका लागि ९०.०५ करोड भारु खर्च भयो । यस अक्सनमा अष्ट्रेलियाका मिचेल स्टार्क सबैभन्दा महँगा बलर बने । उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारुमा किनेको थियो । उनी आइपिएल इतिहासकै महंगा खेलाडी बनेका छन् ।

त्यस्तै अष्ट्रेलियाका प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २०.४५ करोड भारुमा किनेको छ, उनी आइपिएल इतिहासका दोस्रो महँगो खेलाडी बनेका छन् । त्यस्तै यस अक्सनमा बलर हर्षल पटेल भारतीय महंगा खेलाडी बने । पटेललाई पञ्जाब किंग्सले ११.७५ करोड भारुमा किनेको छ ।

यस अक्सनमा भारतीय अनक्याप खेलाडीमाथि पनि फ्रेन्चाईजीले पैसा बर्षाएका छन् । जसमा आक्रामक ब्याट्सम्यान समीर रिजवीलाई चेन्नई सुपर किंग्सले ८.४० करोड भारुमा किनेको छ । त्यस्तै महँगोमा विकेका विदेशी खेलाडीमा न्यूजिल्याण्डका डेरिल मिचेल पनि रहेका छन् ।

उनलाई चेन्नईले १४ करोडमा किन्यो भने वेस्ट इन्डिजका अल्जारी जोसेफलाई रोयल च्यालेन्जर्स बैंगलोरले ११.५० करोड भारुमा किनेको छ । त्यस्तै अस्ट्रेलियाका स्पेन्सर जोन्सनलाई गुजरात टाइटान्सले १० करोड भारुमा किनेको छ । त्यस्तै भारतीय खेलाडी शिवम मावी, उमेश यादव, शार्दुल ठाकुर र जयदेव उनाडकटले पनि १ करोडभन्दा बढी मूल्य पाएका छन् ।

नेपाली खेलाडीले पाएनन अवसर

छिमेकी भारतमा हुने विश्वकै सबैभन्दा लोकप्रिय क्रिकेट लिगमा यसपटक नेपाली खेलाडीले अवसर पाउने अपेक्षा गरिएपनि बिसीसीआईले जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडीको नाम समावेश भएन । यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका थिए। अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका थिए ।

योसँगै नेपाली खेलाडीले आइपिएलमा खेल्ने प्रतिक्षा थप एक बर्ष लम्बिएको छ । यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहेपनि कुनै टिमले किनेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL