Logo

वार्षिक साढे ३ लिटर सफ्ट ड्रिंक्स पिउँछन् नेपाली, बजार प्रतिवर्ष ६ प्रतिशतले बढ्ने

वार्षिक साढे ३ लिटर सफ्ट ड्रिंक्स पिउँछन् नेपाली, बजार प्रतिवर्ष ६ प्रतिशतले बढ्ने



काठमाडौं । कार्बोनेटेड सफ्ट ड्रिंक्स पिउने प्रवृत्ति विश्वभर बढ्दै गएको छ । यो स्वास्थ्यका लागि राम्रो नहुने विज्ञहरू बताउँछन् । यति हुँदाहुँदै पनि यसको उपभोगमा वृद्धि बढ्दै गएको छ । नेपालमा पनि कार्बोनेटेड सफ्ट ड्रिंक्सको बजार निरन्तर वृद्धि हुँदै गएको छ । नेपालमा कोकाकोला, पेप्सीजस्ता बहुराष्ट्रिय ब्राण्डहरुसहित केही नेपाली ब्राण्ड पनि सफ्ट ड्रिंक्सको बजारमा छन् ।

विश्वमा सफ्ट ड्रिंक्सको बजार कति ठूलो छ भन्ने कुरा संयुक्त राज्य अमेरिकाले मात्रै सन २०२३ मा १५० बिलियन डलरको सफ्ट ड्रिंक्सको व्यापार गर्दछ । नेपालमा पनि हाल वार्षिक २० अर्ब हाराहारीमा सफ्ट ड्रिंक्सको व्यापार भइरहेको आँकलन छ । विश्वव्यापी रुपमा सफ्ट ड्रिंक्सको उपभोग र व्यापारबारे हालै सार्वजनिक एक तथ्यांकअनुसार नेपालमा सफ्ट ड्रिंक्सको व्यवसायमा ५.९८ प्रतिशतको वार्षिक वृद्धि हुने अनुमान गरिएको छ ।

प्रतिव्यक्ति तथ्यांकका हिसाबले नेपालका प्रत्येक व्यक्तिले २०२३ मा २.२३ अमेरिकी डलर बराबरको सफ्ट ड्रिंक्सको व्यापारमा योगदान गर्ने अपेक्षा छ । विशेष गरी नेपाली बजारमा कार्बोनेटेड सफ्ट ड्रिंक्स भोल्युम २०२७ सम्ममा ११ करोड २० लाख लिटर पुग्ने अनुमान गरिएको छ । थप रूपमा यो सेगमेन्टमा सन २०२४ मा ४.७ प्रतिशतको वृद्धि हुने आँकलन गरिएको छ ।

सन् २०२३ मा नेपालका प्रत्येक व्यक्तिले औसतमा ३.२१ लिटर कार्बोनेटेड सफ्ट ड्रिंक्स उपभोग गर्ने प्रक्षेपण गरिएको छ । नेपालको कार्बोनेटेड सफ्ट ड्रिंकको बजारले स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूको लागि स्थानीय, प्राकृतिक सामग्रीहरूको मागमा वृद्धि भइरहेको अनुभव गरिरहेको प्रतिवेदनमा छ ।

प्रतिवेदनका अनुसार सबैभन्दा बढी सफ्ट ड्रिंकको खपत गर्ने देश अमेरिका हो । यो देशका प्रत्येक व्यक्तिले एक वर्षमा २१६ लिटर कार्बोनेटेड सफ्ट ड्रिंक पिउने गरेका छन् । कार्बोनेटेड सफ्ट ड्रिंक्स खपत गर्ने शीर्ष १० देशमध्ये ६ अमेरिकी महादेशका छन् । जसमा अर्जेन्टिना, चिली, मेक्सिको, क्यानडा र उरुग्वे पर्छन् ।

अमेरिकापछि अर्जेन्टिनामा यसको खपत सबैभन्दा बढी छ । त्यहाँ प्रत्येक व्यक्तिले एक वर्षमा १५५ लिटर कार्बोनेटेड सफ्ट ड्रिंक पिउने गर्दछन । चिलीमा यसको वार्षिक खपत १४१ लिटर प्रति व्यक्ति छ । त्यस्तै, मेक्सिकोमा पनि हरेक व्यक्तिले एक वर्षमा औसत १३७ लिटर सफ्ट ड्रिंक्स पिउने गरेको छ । त्यसपछि आयरल्यान्ड (१२६ लिटर), क्यानडा (११९.८ लिटर), नर्वे (११९.८ लिटर), उरुग्वे (११३ लिटर), बेल्जियम (१०२.९ लिटर) र अष्ट्रेलिया (१००.१ लिटर) छन् । बेलायतमा हरेक व्यक्तिले एक वर्षमा ९६.५ लिटर कार्बोनेटेड शीतल पेय पिउने गर्छ भने नेदरल्याण्डमा यो संख्या ९६.१ लिटर छ ।

यो सूचीमा छिमेकी भारत नेपालभन्दा केही अगाडि रहेपनि पुछारमा छ । भारतमा कार्बोनेटेड सफ्ट ड्रिंकको प्रतिव्यक्ति वार्षिक खपत मात्र ४.२ लिटर छ । सूचीमा साउदी अरेबिया (८९ लिटर), बोलिभिया (८९ लिटर), न्युजिल्यान्ड (८४.२ लिटर), स्वीडेन (८२.४ लिटर), स्वीट्जरल्याण्ड (८१.४ लिटर), डेनमार्क (८० लिटर) र अस्ट्रिया (७८.८ लिटर) छन् ।

युरोपेली देश जर्मनीमा कार्बोनेटेड सफ्ट ड्रिङ्कको प्रतिव्यक्ति खपत ७२ लिटर र रुसमा ६६.४ लिटर छ । ब्राजिलमा ५९.५ लिटर, फिनल्याण्डमा ५२ लिटर, इटालीमा ५०.२ लिटर, स्पेनमा ३९.२ लिटर, फ्रान्समा ३७.२ लिटर, इन्डोनेसियामा २३ लिटर, जापानमा २१.६ लिटर र भारतमा ४२ लिटर छ ।

कार्बोनेटेड सफ्ट ड्रिंकमा सामान्य पानीको तुलनामा कार्बनडाइअक्साइड बढी हुन्छ । कतिपयले यसलाई स्वादका लागि पिउने गर्छन् भने कतिपयले यसले पाचन क्रियालाई सुधार्ने दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL