Logo

सुरक्षित मानिएको घरजग्गा धितोकै कारण बैंकिङ क्षेत्रको कर्जा जोखिममा, लिलामका लागि पत्रिकामा सूचना छापिन्छ तर हुँदैन बिक्री

सुरक्षित मानिएको घरजग्गा धितोकै कारण बैंकिङ क्षेत्रको कर्जा जोखिममा, लिलामका लागि पत्रिकामा सूचना छापिन्छ तर हुँदैन बिक्री



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ठूलो हिस्सा घरजग्गा धितोमा लगानी गरेका कारण कर्जाको जोखिम बढेको छ । बैंक तथा वित्तीय संस्थाले नगद कारोबारभन्दा बढि धितोमा आधारित कारोबार गर्दा बैंकलाई नै कर्जा असुलिमा समस्या देखिएको हो ।

नेपालका बैंक तथा वित्तीय संस्थाले अन्यको तुलनामा घरजग्गा धितोमा आधारित रहेर गरिएको कर्जा लगानीलाई सुरक्षित मान्दै आएका छन । धितोमा आधारित धेरै कर्जा भएका कारण नै बैंकको लगानी सुरक्षित रहेको दावी बैंकहरुले गर्दै आएका छन । तर, पछिल्लो समय बैंकले धितो राखेर दिएको कर्जा लगानी उठ्न सकेको छैन । अनावश्यक रुपमा बढेको जग्गाको मूल्य र सोही मूल्यलाई आधार बनाएर बैंकहरुले धितो लिँदा पछिल्लो समय बैंकिङ क्षेत्रलगायत अर्थतन्त्रमा नै समस्या सिर्जना भएको सम्बन्धित जानकारहरुको बुझाई छ ।

‘एकातर्फ नेपालमा घरजग्गाको मूल्य अनावश्यक रुपमा कढेको छ भने अर्कोतर्फ पहुँचको आधारमा धेरैजसो धितोको अधिक मूल्यांकन गरिएको छ,’ एक बैंकरले भने, ‘बैंकहरुले कुल मूल्यांकनको ४० देखि ५० प्रतिशत रकममा राखेको धितो अहिले प्रबाहित कर्जा उठ्ने गरी मात्र लिलाममा निकाल्दासमेत बिक्री भएको छैन ।’

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ७६ प्रतिशत हिस्सा कर्जा धितोमा आधारित रहेको अन्तरराष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को एक तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले उच्च रुपमा मूल्य बढेको घरजग्गालाई धितो मानेर कर्जा प्रबाह गरेको र अहिले ती जग्गाहरु बिक्री हुन नसक्दा बजारमा नगद प्रवाह कम भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन । जसका कारण पछिल्लो समय अर्थतन्त्रमा नै समस्या देखिएको छ ।

यसैगरी, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ४ महिनासम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले धितोलाई आधार मानेर ८८.५१ प्रतिशत कर्जा लगानी गरेको छ । जसमा ६७.३३ प्रतिशत कर्जा लगानी घरजग्गा धितोमा आधारित रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था बारेमा प्रकाशित तथ्यांकले देखाउछ । यसैगरी, १२।१ प्रतिशतमात्र कर्जा चालु सम्पति ९कृषि तथा गैर कृषिजन्य बस्तु० धितोमा राखेर लगानी भएको छ ।

‘बैंकबाट यसरी प्रवाह भएको कर्जाले ‘क्यास फ्लो’ हुँदैन, त्यसको लागि व्यवसाय वा उद्यम गर्नुपर्ने हुन्छ,’ थापा भन्छन, ‘बैंकहरुले ऋण दिँदा व्यवसाय र उद्यमलाई विश्वास नगर्ने तर ऋणीको सम्पत्तिलाई विश्वास गरेर ऋण दिने गरेको छ, यसले एकातर्फ उत्पादनमा ह्रास आएको छ भने अहिलेको मन्दीमा कर्जा असुलीमा समेत समस्या भएको देखिन्छ ।’

नेपालका बैंकहरुले आफुले गरेको लगानी व्यवसाय वा उद्यमबाट ऋण उठेन भने धितोबाट उठाउने र त्यही धितोमा आधारित लगानीलाई सुरक्षित लगानी मान्ने गरेको थापाको बुझाई छ । तर, पछिल्लो समय बैंकिङ क्षेत्रमा धितो लिलामी नबिकेका कारण त्यसले नै निष्कृय कर्जा वृद्धि गरेको बैंकहरुले हरेक दिन पत्रपत्रिकामा जारी गरेको सुचनाले देखाउँछन । बैंक तथा वित्तीय संस्थाहरुले एउटै धितो बिक्रीका लागि पटक–पटक पत्रिकामा सूचना प्रकाशति गर्ने गरेका छन । तर, बैंकहरुले यसरी बिक्री गर्न खोजेको धितो (घरजग्गा) बिक्री नहुँदा त्यसको थप बोझ बैंकिङ क्षेत्रले नै उठाउनु परेको छ । यसले पनि अर्थतन्त्रलाई मन्दीतर्फ धकलेको थापा बताउँछन ।

नेपालमा धेरैजसो ऋणीहरुले घरजग्गा धितो राखेर लिएको ऋण पुनः घरजग्गा कारोबारमै लगानी गरेका छन । यसरी लगानी गर्ने लगानीकर्ताले बैंकको ऋण तिर्न फेरी घरजग्गा नै बिक्री गर्नुपर्ने हुन्छ । ‘पछिल्लो डेढ दशकमा जसरी जग्गाको मूल्य अकासियो यसलाई नेपालको अर्थतन्त्रले सपोर्ट गर्दैन,’ उनले भने, ‘अहिले ऋणीहरुले बैंकको कर्जा तिर्न त्यहि जग्गा बिक्री गर्नुपर्ने बाध्यता छ तर उक्त मूल्यमा जग्गा बिक्री हुने अवस्था छैन ।’ नेपालको जग्गाको मूल्य अनावश्यक रुपमा वृद्धि हुँदा तत्कालका लागि ऋणीलाई फाइदा भएको देखिए पनि देशलाई दिर्घकालिन नकारात्मक असर गर्ने थापाको बुझाई छ ।

यसैगरी, घरजग्गा धितोमा राखेर ऋण लिएर फेरी घरजग्गामा नै लगानी गर्ने गरी बैंकको ऋण परिचानल हुँदा रोजगारीको वातावरण घट्दै गइरहेको थापा बताउँछन । बैंकहरुले गरेको यस्तो लगानीकै कारण उत्पादनसमेत वृद्धि हुन नसकेको उनी बताउँछन । बैंकले यस्तो लगानी धितोमा आधारितभन्दा पनि नगद प्रवाहमा आधारित भएर गर्ने हो भने त्यसले उत्पादन तथा रोजगारी बढ्ने थापाको बुझाई छ ।

अन्य देशमा सरकार तथा बैंकहरुले ऋण दिँदा आयोजनाको उत्पादन क्षमता र त्यसबाट आउने प्रतिफलको मूल्यांकन गरेर दिने गर्दछन् । तर, नेपालमा भने उत्पादन वा कुनै परियोजनाकोे प्रतिफलभन्दा पनि धितोलाई आधार मानेर बढि कर्जा प्रबाह गरिएकोे छ । यसले उत्पादनमा कुनै योगदान नगरेको विज्ञहरुको बुझाई छ ।

घरजग्गा धितोको कारण खराब कर्जा बढ्यो

बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा राखेर ऋण दिई ऋण उठाउन नसक्दा बैंकहरुको खराब कर्जाको अनुपात बढेको छ । बैंकहरूले प्रवाह गरेको ऋण उठ्न नसके पछि खराब कर्जाको अंश लगातार बढेको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक ९असोजसम्म०को तथ्यांक अनुसार बैंकहरूको खराब कर्जा बढेर ३.२८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा खराब कर्जाको अंश १.५९ प्रतिशत थियो ।

वाणिज्य बैंकसँगै विकास बैंक, फाइनान्स कम्पनी लगायत सबै वित्तीय क्षेत्रको खराब कर्जा बढ्दो छ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा एक वर्षमा दोब्बरले बढेको छ । यसरी खराब कर्जाको अनुपात बढ्दा बैंकहरु थप जोखिममा पर्ने पूर्ब बैंकर भुवन दाहाल बताउँछन । ‘पछिल्लो अर्थतन्त्रको शिथिलताका कारण व्यवसायीले ऋण तिर्न नसक्दा खराब कर्जा बढेको छ,’ दाहाल भन्छन ।

घरजग्गामा मन्दी कायमै

पछिल्लो केहि महिना यता सरकारले अर्थतन्त्रलाई चलायमान् बनाउन भन्दै घरजग्गा बजारलाई उकास्ने एकपछि अर्को खकुलो नीति अघि सारिरहेको छ । सरकारले गत साउनमा कित्ताकाट खला गरेको थियो । यसैगरी, नेपाल राष्ट्र बैंकले समेत घरजग्गा क्षेत्रमा जाने बैंकको कर्जालाई सजह बनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षा मार्फत घरजग्गामा जाने कर्जाको जोखिम भार क्षमता १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ ।

तर, पनि घरजग्गाको व्यवसाय सोचेअनुसार नबढेको जानकारहरु बताउँछन । मंसिरमा देशभरि ४१ हजार ८५१ वटा घरजग्गाको किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार मासिक कारोबारको तुलनामा सामान्य बढेको छ । गत साउनमा ३९ हजार २६२ वटा घरजग्गाको किनबेच भएको थियो । भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३, कात्तिकमा २६ हजार ४६ वटा र मंसिरमा ४१ हजार ८ सय ५१ पटक घरजग्गाको कारोबार भएको छ । यसरी मंसिरमा भने अन्य महिनाको तुलनामा घरजग्गाको कारोबार बढेको भएपनि सरकारको लक्ष्य अनुसार अनुसार कारोबार नबढेको घरजग्गा व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्