Logo

अमेरिकामा ज्यान गुमाएका नेपालीका परिवारले पाए इन्स्योरेन्सको ३ करोड ३३ लाख

अमेरिकामा ज्यान गुमाएका नेपालीका परिवारले पाए इन्स्योरेन्सको ३ करोड ३३ लाख



काठमाडौं । अमेरिकाको न्यूजर्सी राज्यमा ज्यान गुमाएका नेपाली विष्णु शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम उपलव्ध गराइएको छ । टेक्सास नेपाली समाजका उपाध्यक्ष तथा न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका वित्तीय इन्स्योरेन्स एजेन्ट जनक भण्डारीले मृतक शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

विष्णु शाहको निधनपछि उनको इन्स्योरेन्स भएको कम्पनी न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले त्यसबापत २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर (तीन करोड तेत्तीस लाख बराबरको नेपाली रुपैयाँ) नेपालमा रहेका उनको परिवारलाई उपलब्ध गराइएको हो ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६ स्थायी घर भएका शाहको हृदयाघातका कारण अमेरिकामा १७ जनवरी २०२३ मा निधन भएको थियो । शाह ९ वर्ष अगाडि अमेरिका पुगेका थिए । उनको परिवार हाल दाङको घोराही नगरपालिका वडा नम्बर १५ मा बस्दै आएको छ । शाहले न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका थिए । कम्पनीले बीमाबापतको रकम नेपालमा रहेकी उनकी श्रीमती मिना शाहलाई उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL