Logo

सेयर बजारमा ९.८७ अंकको वृद्धि , कारोबार रकममा पनि सुधार

सेयर बजारमा ९.८७ अंकको वृद्धि , कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० बिन्दुमा पुगेको छ । बुधबार पनि सेयर बजार २० अंकभन्दा धेरैले बढेको थियो ।

बुधबारको तुलनामा बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार एक खर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको सेयर बजारमा बिहीबार एक अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १ सय ६१ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ६७ कम्पनीको सेयर मूल्य घटेको छ भने, १० कम्पनीको सेयर मूल्य यथावत रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी १० उपसमूहको सेयर मूल्य बढेको छ ।

बिहीबार लाईफ इन्स्योरेन्स उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन । यस उपसमूहका लगानीकर्ताको सेयर मूल्य आज ३.३७ प्रतिशतले बढेको छ । बिहीबार सबैभन्दा धेरै वाणिज्य बैंक उपसमूहको सेयर मूल्य घटेको छ । यस उपसमूहको सेयर मूल्य बिहीबार ०.७२ प्रतिशतले घटेको छ ।

आज २ सय ९२ कम्पनीकाे ४४ लाख २० हजार ५ सय १८ कित्ता सेयर ४८ हजार ४ सय ९३ पटक किनबेच भएको छ । आज बुद्धभूमी नेपाल जलविद्युत कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नबिल बैंकको सेयर मूल्य घटेको छ । यस बैंकको सेयर मूल्य आज ८.२० प्रतिशतले घटेको छ । बैंकले बिहीबार गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यो लाभांश हालसम्म कै न्यून भएको कारण बैंकको सेयर मूल्यमा गिरावट आएको हो ।

बिहीबार १३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । नबिलको लाभांश घोषणापछि भाउ घटेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र सानिमा जीआइसी इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्