Logo

युवा संघ र दुर्गा प्रसाई समूहको काठमाडौंमा शक्ति प्रदर्शन आज, ड्रोनबाट जुलुसको निगरानी गर्दै प्रहरी

युवा संघ र दुर्गा प्रसाई समूहको काठमाडौंमा शक्ति प्रदर्शन आज, ड्रोनबाट जुलुसको निगरानी गर्दै प्रहरी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज (बिहीबार) काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरे पनि प्रशासनले यो क्षेत्रमा निषेधाज्ञा जारी गरेर प्रदर्शनका लागि फरक–फरक स्थान तोकिदिएको छ । यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्नेछन् ।

युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानो ठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने तयारी गरेका छन् । युवा संघको जुलुस मोटरसाइकलसहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ । च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने गरी रुट तय गरिएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने र भित्री बाटो र चक्रपथ हुँदै बल्खु पुग्ने गरी रुट निर्धारण गरिएको छ । जुलुसको नेतृत्व प्रसाईं र महेश बस्नेतले गर्नेछन् । बस्नेतको गृहजिल्ला भक्तपुर नै हो भने प्रसाईंको पनि भक्तपुरमा घर छ । प्रहरीले आजैदेखि लोकन्थलीस्थित प्रसाईंको घर र गुण्डुस्थित बस्नेतको घर आसपास सुरक्षा सतर्कता बढाएको छ ।

आजको प्रदर्शनलाई ध्यान दिँदै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था विहानैबाट कडा पारिएको छ । काठमाडौँ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको छ ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौँ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ ।

बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उनले बताए । आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको पनि उनको भनाइ छ । दुवै पक्षले एक लाख भन्दा धेरै प्रदर्शनकारी ल्याउने घोषणा गरे पनि प्रहरीले बढीमा १५ हजार जना प्रदर्शनकारी आउन सक्ने आंकलन गरेको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल–२०७९’ का नाममा ‘मंसिर ७ नागरिकको साथ’ नाराका साथ प्रसाईंको नेतृत्वमा प्रदर्शन हुन लागेको हो । युवा संघले भने महँगीको विरोधमा प्रदर्शन आयोजना गरेको हो । दुई समूहको फरक–फरक उद्देश्य भए पनि प्रसाईं र बस्नेतको व्यक्तिगत तिक्तताका कारण झडप हुन सक्ने आंकलन गरिएको छ ।

बल्खु र तीनकुनेमा बिहीबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । बल्खुमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ भने एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले बताएको छ । प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १,५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा २,६३७, ललितपुरमा ५६४ र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भएमात्र घरबाट बाहिर निस्कन भनेको छ ।

दुई समूहबीच झडपको सम्भावनालाई मध्यनजर गरेर प्रशासनले फरक–फरक स्थान तोकिदिएको छ । प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेण्टर बनाएको छ । प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौंका एसएसपीले गर्नेछन् । प्रहरीले ड्रोनबाट पनि प्रदर्शनस्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL