Logo

कात्तिकमा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड राजस्व संकलन, पूँजीगत लाभकर मात्रै ७७ करोड बढी

कात्तिकमा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड राजस्व संकलन, पूँजीगत लाभकर मात्रै ७७ करोड बढी



काठमाडौं । सरकारले कात्तिक महिनामा भएको घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड बढी रुपैयाँ राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कात्तिक महिनामा सरकारले ७७ हजार १ सय ८५ पटक कारोबार हुँदा उक्त रकम बराबरको राजस्व उठाएको हो । यद्यपि यो कारोबार अघिल्लो महिना असोजको तुलनामा भने कम हो । विभागका अनुसार गएको असोज महिनामा नेपालभरका मालपोत कार्यालयहरुले कुल १ लाख ४० हजार बढी पटक घरजग्गा कारोबार गरी ४ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए ।

यसरी घरजग्गा कारोबार गर्दा मालपोत कार्यालयहरुले विभिन्न शीर्षकमा राजस्व उठाउँछन । कात्तिक महिनामा देशभरका मालपोत कार्यालयहरुले रजिष्ट्रेशन दस्तुर शीर्षकमा मात्रै १ अर्ब ३५ करोड रुपैयाँ बढी राजस्व उठाएका छन् । यस्तै यसै अवधिमा पूँजीगत लाभकरको शिर्षकमा राजस्व कार्यालयहरुले ७७ करोड ९ लाख बढी राजस्व उठाएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार मधेश प्रदेशका मालपोत कार्यालयहरुले पछिल्लो समय घरजग्गाको कारोबारमा मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क पनि उठाउने गरेका छन् । मधेश प्रदेशका १८ मालपोत कार्यालयहरुले उक्त कोषका लागि भन्दै घरजग्गा कारोबारबाट २ करोड २३ लाख रुपैयाँ उठाएका छन् । यस्तै यसै अवधिमा सरकारले सेवा कर २० करोड १५ लाख, डोस सुविधा शुल्क २ लाख ३८ हजार, विलम्ब शुल्क २ लाख ३५ हजार र रोक्का दस्तुर ५ लाख १९ हजार रुपैयाँ उठाएको छ ।

कात्तिकमा सबैभन्दा बढी राजस्व उठाउने मालपोत कार्यलयहरुको पहिलो स्थानमा भने लगनखेल मालपोत कार्यालय छ । यो कार्यालयले कात्तिक महिनामा मात्रै १८ करोड ९४ लाख रुपैयाँ राजस्व उठाएको छ । यसैगरी धेरै राजस्व उठाउने मालपोत कार्यलयको दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः डिल्लीबजार, भक्तपुर, चावहिल र कलंकी मालपोत कार्यालयहरु छन् । यी कार्यालयहरुले कात्तिकमा क्रमशः १८ करोड १५ लाख, १४ करोड २६ लाख, १३ करोड १८ लाख र १२ करोड ४४ लाख रुपैयाँ राजस्व आर्जन गरेका छन् ।

घरजग्गा कारोबारको संख्यालाई आधार मान्दा भने सबैभन्दा बढी कारोबार इनरुवा मालपोत कार्यालयबाट भएको देखिन्छ । कात्तिकमा यो कार्यालयबाट मात्रै ११ सय ८२ लिखत पारित भएका छन् । यस्तै कात्तिकमै जनकपुरधाम मालपोतबाट ११ सय ७, भद्रपुर मालपोतबाट १ हजार ११ र सप्तरीको राजविराज मालपोत कार्यालयबाट ८ सय ९५ लिखत पारित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL