Logo

देउवाले प्रचण्डलाई बुझाए भूकम्पपीडित राहतका लागि ५० लाखको चेक, माधव नेपालले बुझाए २५ लाख

देउवाले प्रचण्डलाई बुझाए भूकम्पपीडित राहतका लागि ५० लाखको चेक, माधव नेपालले बुझाए २५ लाख



काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि देउवाले बालुवाटार पुगेर चेक बुझाएका हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । सभापति देउवासँगै कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि बालुवाटार पुगेका थिए । कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

यस्तै कांग्रेसले आफ्नो संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि दिने भनेको छ । शुक्रवार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका परी १५३ जनाको मृत्यु भएको छ । २ सय बढी घाइते भएका छन् । दुवै जिल्लामा सयौं घर भत्किएका छन् ।

भूकम्पपीडितका लागि एकीकृत समाजवादीले दियो सरकारलाई २५ लाख

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

आज बिहान अध्यक्ष माधवकुमार नेपाललगायत एकीकृत समाजवादीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २५ लाख रुपैंयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६।४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने दुई सय बढी घाइते भएका छन् । करोडौँ बराबरका भौतिक संरचना क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL