Logo

आयो तिहार : २० करोडको झिलिमिली बत्ती आयात, व्यापारी भन्छन्-माग छैन, मन्दीको असर देखियो

आयो तिहार : २० करोडको झिलिमिली बत्ती आयात, व्यापारी भन्छन्-माग छैन, मन्दीको असर देखियो



काठमाडौं । तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । किनकि तिहारमा प्रायः सबै नेपालीले आ–आफ्नो घर उज्यालो हुने गरि सजाउँछन् । उज्यालो घरमा धनकी देवी लक्ष्मी प्रवेश गर्छिन भन्ने मान्यता रहँदै आएको छ । आधुनिकतासँगै घर सजावटमा पनि परिवर्तन देखापरेको छ । पहिले माटोका पाला, तामाका पालामा बत्ती बाल्ने परम्परा मैनबत्ती हुँदै अहिले चाइनिज झिलिमिली बत्तीमा पुगेको छ । जसका कारण तिहारको छेको पारेर व्यापारीहरुले झिलिमिली बत्तीको आयात गर्ने गर्छन ।

यसपटक तिहार कात्तिक २५ देखि शुरु हुँदैछ । जसका लागि व्यापारीहरुले झिलिमिली बत्तीको आयात गरेका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार तिहारलक्षित मानिने झिलीमिली बत्ती आयात चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो ३ महिनामै ९ करोड ८४ लाख रुपैयाँ बराबरको भएको छ । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा झण्डै दोब्बरले बढी हो । अर्थात गत आवको यहि अवधिमा नेपालमा विभिन्न देशहरुबाट तिहारलक्षित यस्ता बत्तीहरु ४ करोड २३ लाख २२ हजार रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।

संख्याकै आधारमा भन्दा पनि गत आवको तुलनामा चालु आवको पहिलो ३ महिनामा नेपालमा २ लाख बढी थान यस्ता बत्ती आयात भएका छन् । भन्सार विभागका अनुसार गत आवको पहिलो ३ महिनामा ५ लाख ९६ हजार ७ सय ९८ थानमात्रै आयात भएको यस्तो बत्ती यो बर्ष बढेर ७ लाख ७८ हजार ७ सय ८२ थान आयात भएको छ ।

नेपालमा खासगरी चीन र भारतबाट यस्ता बत्तीहरुको आयात हुनेगरेको भन्सार विभागले जानकारी दिएको छ । चालु आवको पहिलो ३ महिनामा यस्ता बत्तीहरु चीनबाट मात्रै ९ करोड ३२ लाख रुपैयाँ बराबरको ६ लाख ७८ हजार ३ सय ९४ थान आयात भएको छ । यस्तै यसै अवधिमा भारतबाट भने यस्तो बत्ती ४५ लाख ४६ हजार रुपैयाँ बराबरको ९९ हजार ८ सय ९ थान आयात भएको छ । यति मात्रै होईन नेपालमा यस्तो बत्ती कतार, बहराईन, अष्ट्रेलिया, नेदरल्याण्ड, साउदी अरेबीया, बेलायतलगायतका देशबाट पनि आयात हुने गरेको छ । तर, भारत र चीनको तुलनामा अन्य देशबाट न्यून मात्रामा मात्रै यस्तो बत्ती आयात हुने गरेको भन्सार विभागले जानकारी दिएको छ ।

राजस्वमा ३ गुणा वृद्धि

भन्सार विभागका अनुसार चालु आवमा झिलीमिली बत्तीको आयात बढेपछि यसमार्फत आर्जन हुने भन्सार राजस्व करिव ३ गुणाले बढेको छ । गत आर्थिक बर्षको पहिलो ३ महिनामा यस्तो झिलीमिली बत्ती आयात गरेर १ करोड ४८ लाख ४५ हजार रुपैयाँ आर्जन भएकोमा चालु आवको सोही अवधिमा बढेर ३ करोड ५८ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

आयात बढेपनि छैन माग

भन्सार विभागको तथ्यांकमा यस्तो वस्तुको आयात बढेको देखिएपनि यो बर्ष अघिल्ला बर्षको जस्तो माग भने नरहेको व्यापारीहरु बताउँछन् । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटा यो बर्ष देखिएको आर्थिक मन्दीकै कारण यस्तो बत्तीको मागमा ज्यादै गिरावट आएको बताउँछन् । ‘आर्थिक मन्दीकै कारण होला यो बर्ष झिलीमिली बत्तीको आयात अत्याधिक न्यून छ,’ उनले भने, ‘गत बर्ष आयात कम भएपनि माग उच्च थियो ।’

गत बर्ष कोरोना महामारीका प्रभावका कारण चीनमा यस्ता बत्तीको उत्पादन नै न्यून भएकै कारण आयातमा केहि कमी आएको उनले बताए । यसपटक पनि उत्पादन कम भएपनि नेपाली ब्यापारीहरुले झिलीमिली बत्तीको आयात भने बढाएको उनले बताए । तिहारका लागि आवश्यक यस्तो बत्ती खासगरी असोजसम्म आइसक्छ । हाल असोजसम्मको तथ्यांकअनुसार करिव १० करोड रुपैयाँ बराबरको मात्रै यस्तो बत्ती आयात भएको देखिन्छ । कार्तिकमा पनि यस्तो बत्ती आउने हुनाले यो बर्ष यस्तो बत्तीको आयात करिव २० करोड रुपैयाँसम्म पुग्ने उनको आँकलन छ । ‘आधाजसो व्यापारीहरुले असोजसम्म यस्तो बत्ती ल्याइसक्नुभयो,’ उनले भने, ‘बाँकी आउने क्रममा छ, तिहारसम्म नेपालमा यस्तो झिलिमिली बत्ती २० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान गरिएको छ ।’

यो बर्ष निर्माण क्षेत्रमा आएको मन्दीका कारण पनि बत्तीको माग भने घटेको उनले बताए । ‘पैसाकै कमीका कारण केहिले गत बर्ष नै प्रयोग गरिएका बत्तीहरु प्रयोग गर्नुभयो, केहिले यो अत्यावश्यक होइन भनेर किन्नुभएन,’ उनले भने, ‘यसैका कारण यसपटक आयात भएको बत्ती पनि न्यून मूल्यमा बेच्नुपर्ने बाध्यताआउनसक्ने देखिएको छ ।’

तिहारमा हुन्छ सबैभन्दा बढी विजुली खपत

नेपालमा सबैभन्दा बढी विजुली खपत हुने समय भनेकै तिहारको समयमा हो । नेपाल विद्युत प्राधिकरणमा अनुसार हरेक बर्ष तिहारकै बेलामा नेपालमा विद्युतको उच्चतम डिमाण्ड हुने गरेको छ । जसको प्रमुख कारण हो तिहारमा बालिने झिलिमिली बत्ती । तिहारको लक्ष्मीपूजाका दिनकै लागि भनेर धेरैजसो नेपालीले आफ्नो घर झिलिमिली बत्तीले नै सिंर्गाछन् । तर, आयातमा निर्भर यस्ता बत्तीको बढ्दो प्रयोगको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL