Logo

चिनियाँ राष्ट्रपति सीद्वारा जाजरकोटको भुकम्पमा मृतकप्रति समवदेना, भन्छन ‘स्तब्ध छु’

चिनियाँ राष्ट्रपति सीद्वारा जाजरकोटको भुकम्पमा मृतकप्रति समवदेना, भन्छन ‘स्तब्ध छु’



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्। आफ्नो सन्देशमा उनले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर पुनःनिर्माण गर्नसक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गरेका छन् ।

यसैगरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि आफ्ना नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL