Logo

भ्रष्टाचार आरोपको दाग मेटाउन हमालको नयाँ स्टन्ट : कानूनको धज्जी उडाउँदै आईपीओ रोक्ने धम्की, औंलामा रोग लाग्दा हातै काटेर फाल्ने ?

भ्रष्टाचार आरोपको दाग मेटाउन हमालको नयाँ स्टन्ट : कानूनको धज्जी उडाउँदै आईपीओ रोक्ने धम्की, औंलामा रोग लाग्दा हातै काटेर फाल्ने ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफुमाथि लागेको आर्थिक अनिमियतालाई लुकाउन सेयरको सार्वजनिक निष्काशनलाई नै बन्द गर्ने धक्की दिन थालेका छन् । पछिल्लो समय उनले कागजात मिलाएर आर्थिक चलखेल गरी लिक्विडेशनमा जान लागेको कम्पनीलाई आईपीओ तथा प्रिमिमिय मूल्यमा आईपीओ जारी गर्न दिएको आरोप लागेपछि उनले उक्त आरोपबाट उन्मुक्ति लिन आईपीओ जारी प्रक्रिया नै रोक्ने बताउँदै आएका छन् ।

बोर्ड अध्यक्ष हमालले लिक्विडेशनमा जान लागेको कम्पनीलाई आईपीओ तथा प्रिमियम मूल्यमा आईपीओ जारी गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिमा उजुरी गरेको थियो । सोहीअनुरुप दुबै निकायले बोर्ड अध्यक्ष हमालमाथि भ्रष्टाचार गरेको प्रश्न खडा गर्दै पत्र काटेपछि अहिले उनले त्यसबाट उन्मुक्ति पाउन आईपीओ निष्काशन नै रोक्न लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

कानूनतः बोर्ड अध्यक्ष हमालले सेयरको सार्वजनिक निष्काशन रोक्न सक्दैनन् । तर, उनले अहिले आफुमाथि लागेको आरोपलाई ढाकछोप गर्न सेयरको सार्वजनिक निष्काशन नै बन्द गर्ने भन्दै सार्वजनिक रुपमा बोल्दै आएका छन् । ‘कुनै व्यक्तिले आफुमाथि लागेको आरोप ढाकछोप गर्न केकस्ता हर्कत गर्छन भन्ने नजिर धितोपत्र बोर्डको अध्यक्षको कार्यशैलीले देखाएको छ,’ एक लगानीकर्ताले भने, ‘उनलाई अख्तियार र लेखा समितिले पत्र काटेपछि अतालिएर कानूनको बर्खिलाप गर्दै सेयरको सार्वजनिक निष्काशन नै बन्द गरिदिन्छु भन्दै हिडन थालेका छन् ।’

गतहप्ता मात्रै सार्वजनिक लेखा समितिले हमाललाई के आधारमा बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको ? घोराही सिमेन्टलाई प्रिमियममा आईपीओ बिक्री गर्न दिँदा भएको भनिएको अनियमितता के हो र यसको छानविनको निष्कर्ष के हो उक्त छानविन प्रतिवेदनसहित उपलब्ध गराउनु भन्दै पत्र काटेर स्पष्टीकरण सोधेको थियो । यसैगरी हमालले सोनापुर सिमेन्टलाई समेत प्रिमियमा आईपीओ जारी गर्न दिँँदा आर्थिक लाभ लिएको भन्दै प्रश्न खडा गरिएको छ ।

हमालले पछिल्लो समय सेयर बजारको शुद्धीकरण र सुदृढीकरण भन्दापनि व्यक्तिगत स्वार्थमा तल्लीन भएर आईपीओको खेती गरेको सम्बद्ध लगानीकर्ताहरुको आरोप छ । विशेषगरि उनले कानून नै परिवर्तन गरी आईपीओ निष्काशन गर्दा रिभ्यालुएशन गरेर नेटवर्थमा गणना गर्न पाउने तथा प्रिमियममा आईपीओ जारी गर्नका लागि समयवधि घटाएरका थिए । ‘सेबोन अध्यक्ष हमालले यी दुई कानून परिवर्तन गराएर उच्च आर्थिक लाभ लिनेगरी नीतिगत भ्रष्टाचार गरेको देखिन्छ भने सोहीअनुरुपका उजुरीहरु आएका छन्,’ लेखा समिति स्रोतले भन्यो, ‘किन र के आधारमा उक्त नीतिहरु परिमार्जन गरिए यससम्बन्धमा समेत धितोपत्र बोर्डसँग समितिले स्पष्टीकरण सोध्नेछ ।’

अहिलेको अवस्थामा धितोपत्र बोर्डले आईपीओ जारी प्रक्रियालाई सुधार तथा प्रिमियम रोकेर बुकबिल्डिङलाई प्राथमिकता दिनुको सट्टा आईपीओ जारी प्रक्रिया नै रोक्नु भनेर अभिव्यक्ति दिनु गैरजिम्मेवार र गैराकानुनीसमेत भएकोे सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘यदि सेबोनले बजारलाई शुद्धीकरण गर्ने हो भने प्रिमियमलाई तत्काल रोकेर आईपीओ जारीको पनि छुट्टै मापदण्ड बनाउनु पर्छ,’ सेयर बजारसम्बन्धी एक विज्ञले भने, ‘बोर्ड अध्यक्ष हमालकै कारण अहिले घाटामा गएका वा डुब्न लागेका कम्पनीहरु पनि धमाधम पब्लिकमा परिणत हुँदै आईपीओ निष्काशनका लागि आवेदन दिन थालेका छन् ।’ घाटामा गएका वा बन्द हुने अवस्थामा पुगेका कम्पनीको सर्वसाधारलाई आईपीओ बिक्री गराएर आर्थिक भार थोपर्न नमिल्नेसमेत ती विज्ञको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL