काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका पैदलमार्ग मर्मत सुधार कार्य अन्तिम चरणमा पुगेको छ । १५ किलोमिटर पैदलमार्ग मर्मतको लक्ष्य रहेकोमा हाल १० किलोमिटरभन्दा बढी निर्माण सम्पन्न भएको काठमाडौं महानगरपालिका शहरी विकास विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए ।
काठमाडौं दिगो सहरी विकास आयोजना अन्तर्गत सो बाटो मर्मत गरिएको हो । महानगरपालिकाले सार्क सम्मेलनदेखि फुटपाथ मर्मत शुरु गरेको थियो । तर भुकम्प तथा नाकाबन्दीका कारण मर्मत कार्य ढिला भएको महानगरले जानकारी दिएको छ ।
सो कार्यका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अहिले सम्पदाको वरीपरी स्टोन पेभिङ (ढुंगा छाप्ने) काम शुरु गरिएको छ । टेकु दोभानदेखि कालमोचनसम्म ढुंगा छाप्न शुरु भएको छ । हालसम्म ५ सय मिटर ढुंगा छापिसकेको छ । सो स्थानमा नेपाली ढुंगा ( फ्ल्याग स्टोन) छापिने भएकोे छ ।
त्यस्तै जेष्ठ नागरिकलाई लक्षित गरि सडक छेउमा कुर्सीको समेत व्यवस्था गरिएको छ । विशेषगरी ३ मिटरभन्दा बढीको फुटपाथमा कुर्सी राखिएको छ । हाल माइतिघर देखि ववरमहल, सिंहदरवार अगाडी यस्ता कुर्सी राखिएको छ । त्यस्तै फुटपाथका गमलामा विरुवा रोपेर हरियाली बनाउने कामलाई समेत अघि बढाएको छ ।
महानगरका अनुसार शारिरिक रुपमा अशक्त भएकालाई लक्षित गर्दै फुटपाथमा स्लोभ राखिएको छ । शहिदगेटदेखि रंगशाला, त्रिपुरेश्वरदेखि सिभिल मल, नारायणहीटी बरपर, कमलादीको उत्तर दक्षिण, सभागृह बरपर अपांगमैत्री बनाइएको छ ।
त्यस्तै जेव्रा क्रसिङमा पनि स्लोभ राखिएको छ । जसले गर्दा ह्वील चियरलाई सजिलो हुन्छ । यसका लागि १० करोड खर्च भएको छ । परियोजनाको समय आगामी सेप्टेम्वरमा सकिदै छ ।