काठमाडौं । वस्तु उत्पादनको कमी र बढ्दो मागका कारण नेपालले हरेक बर्षजसो बार्षिक बजेट बराबरकै व्यापारघाटा बेहोर्दै आईरहेको छ । यतिमात्रै होईन निर्यात व्यापारकै तथ्यांक हेर्दा पनि नेपालको अवस्था नाजुक छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा पनि नेपालले औसतमा ९०.८९ रुपैयाँको वस्तु आयात गर्दा जम्मा ९.११ रुपैयाँको वस्तु मात्रै निर्यात गर्ने गरेको छ ।
यसैअनुरुप चालु आर्थिक बर्षको पहिलो तीन महिना अर्थात गएको साउनदेखि असोज मसान्तसम्म मात्रै नेपालले कुल ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ । सुन्दा अच्चम्म लाग्दा नेपालले ३ महिनामा आयात गरेको वस्तुको मूल्यभन्दा दोब्बर बढी मूल्य बराबरको त पेट्रोलियम पदार्थमात्रै आयात गरेको छ ।
अर्थात नेपालको व्यापारघाटामा ठुलो हिस्सा ओगटेको पेट्रोलियम पदार्थले मात्रै कुल वस्तु आयातको १८ प्रतिशत हिस्सा ओगटेको छ । अझ यसले पछिल्लो ३ महिनामा नेपालले बेहोरेको कुल व्यापारघाटामा पनि सबैभन्दा ठुलो हिस्सा ओगटेको छ । अर्थात यस अवधिमा नेपालले कुल ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेकोमा यसको करिव २० प्रतिशत हिस्सा अर्थात ७३ अर्ब ५२ करोड २२ लाख रुपैयाँ पेट्रोलियम पदार्थले मात्रै ओगटेको छ ।
यति मात्रै होईन नेपालले पछिल्लो ३ महिनामा वस्तु आयातमार्फत उठाएको भन्सार राजस्वमा पनि सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थकै छ । चालु आवको पछिल्लो ३ महिनामा नेपालले पेट्रोलियम पदार्थ मात्रै आयात गरेर २६ अर्ब ७६ लाख रुपैयाँ भन्सार राजस्व आर्जन गरेको छ ।
यसले नेपालको वैदेशिक व्यापार नै पेट्रोलियम पदार्थले डोहोर्याईरहेकोसमेत देखाउँछ । खासगरी नेपालले पछिल्ला केहि बर्षयता व्यापारघाटामा सबैभन्दा ठुलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयातलाई निरुत्साहन गरी नेपालमै उत्पादित जलविद्युतलाई प्रोत्साहन गर्ने नीति लिएपति त्यसको सकारात्मक असर अर्थतन्त्र र नेपालको वैदेशिक व्यापारमा देखिईसकेको छैन ।
नेपाल विद्युत प्राधिकरण र स्वयं उर्जा मन्त्रालयले नै खाना पकाउने ग्याँसको सट्टा विद्युतीय चुलो र इन्डक्सन हिटरको प्रयोगलाई बढावा दिएका थिए । अझ गत आर्थिक बर्षको बजेटमार्फत नै सरकारी निकायहरुमा ग्याँस विस्थापन गर्ने नीति नै समावेश गरिएको थियो । त्यस्तो नीतिले हालसम्म काम नगरेको देखिन्छ । अर्थात पेट्रोलियम पदार्थको आयात गत आर्थिक बर्षको यहि अवधिको तुलनामा चालु आवमा झिनोमात्रै घटेको छ ।