Logo

के हो म्युचुअल फण्ड ? कसरी लगानी गर्ने, सेयरमा लगानी गर्नुभन्दा किन जोखिम कम हुन्छ ?

के हो म्युचुअल फण्ड ? कसरी लगानी गर्ने, सेयरमा लगानी गर्नुभन्दा किन जोखिम कम हुन्छ ?



काठमाडौं । कुनै एउटा संस्थाले सानो–सानो लगानीलाई कोषमा जम्मा गरेर उक्त लगानी सेयर बजारमा भित्र्याउने गर्छ भने त्यसलाई सामूहिक लगानी कोष (म्युचुअल फण्ड) भनिन्छ । जसको व्यवस्थापन र सञ्चालन पोर्टफोलियो प्रबन्धकले गर्ने गर्छन । कुनै व्यक्तिलाइ धितोपत्र बजारको दोश्रो बजार अर्थात् ब्रोकरबाट सेयर खरिद–बिक्रि गर्न जोमिख मान्ने गर्दछन भने त्यस्ता व्यक्तिले सामूहिक लगानी कोषमा लगानी गर्न उपयुक्त हुँने सन सेक्युरिटि कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरी बताउँछन ।

सेयर बजारमा जोखिम महसुस गर्ने लगानीकर्ताको लागि म्युचल फण्ड राम्रो लगानीको अवसर बन्न सक्ने उनको बुझाई छ । म्युचल फण्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार, म्युचल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड ÷ ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् ।

यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरूलाइ वहन ईकाईको आधारमा वितरण गरिन्छ । यस्तो फण्डमा लगानी गर्न ठुलो लगानीको आवश्यक नपर्ने गिरी बताउँछन । यस्तो फण्डमा लगानीकर्ताले प्रत्तिकित्ता १० रुपैयाँको दरले आफुले सकेको जति लगानी गर्न पाउने व्यवस्था रहेको छ । यसमा लगानी गर्न लगानीकर्ताले सबैभन्दा पहिले डिम्याट खाता खोल्नुपर्ने आवश्यकता रहेको हुन्छ । उक्त खाता लिएपछि मेरो सेयरको खाता पनि खोल्नु पर्छ । यसपछि लगानीकर्ताले मेरो सेयरमा सिआरएन नम्बर दर्ता गराउनुपर्ने हुन्छ । यो सबै प्रक्रिया पुरा भएपछि लगानीकर्ताले आफ्नो कम्पुटर तथा मोबाइलबाट नै म्युचुअल फण्डमा लगानी गर्न सक्ने गिरी बताउँछन । लगानीकर्ताले आईपीओमा आवेदन दिए जसरी नै म्युचुअल फण्डमा पनि आवेदन दिनसक्ने व्यवस्था रहेको छ ।

नेपालमा सञ्चालनमा २ प्रकारको म्युचुअल फण्ड रहेको छ । बन्दमुखी म्युचुअल फण्ड र खुलामुखी म्युचुअल फण्ड नेपालमा सञ्चालन भइरहेका म्युचुअल फण्ड हुन् । यी फण्डलाई ओपन इन्डेड र क्लोज इन्डेड म्यूचुअल फण्ड पनि भनिने गिरी बताउँछन । क्लोज इन्डेड म्यूचुअल फण्डको निश्चित परिपक्क सयम अवधि तोकिएको हुन्छ । उक्त सयम अवधिपछि लगानीकर्ताको आफ्नो लगानी फिर्ता पाउँछन । यस्तो कोष वर्षभर किनबेचका लागि पनि उपलब्ध हुने उनी बताउँछन । बन्द कोषले निश्चित पुँजी आइपीओबाट संकलन गर्छन् । यसरी संकलन गरिएको कोषलाई धितोपत्र बोर्डमा सूचीकृत गरिन्छ । बन्दमुखी योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुने गरेको गिरी बताउँछन । त्यसैगरी ओपन इन्डेड म्यूअल फण्ड स्टक मार्केटमा सूचिकृत हुँदैन । यसमा समय निश्चित गरिएको हुँदैन ।

यसैगरी, युनिटहरु पनि मागका आधारमा बढाउन सकिन्छ । खुलामुखी योजनाको परिपक्व हुने निश्चित समय बन्दमुखी योजना जस्तो निर्धारण गरिएको नहुने गिरी बताउँछन । बन्दमुखी योजना भने केही निर्धारित समयपश्चात स्वतः खारेज भएर जान्छ भने खुलामुखी योजना निरन्तर सञ्चालनमा रहने उनको बुझाई छ । म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताले मुख्यगरी तीन तरिकाबाट फाइदा कमाउन सक्ने गिरी बताउँछन । गिरीका अनुसार यस्तो फण्डमा लगानी गर्ने लगानीकर्ताले लाभांशबाट फाइदा पाउँछन । कुनै पनि कम्पनीको सेयरमा लगानी गरेर त्यस कम्पनीले कमाएको नाफाबाट लाभांश पाए जस्तै म्युचुअल फन्डका लगानीकर्ताले पनि वार्षिक रुपमा लाभांश पाउने व्यवस्था रहेको गिरी बताउँछन । हालसम्म नेपालमा सञ्चालिन यस्ता फण्डहरुले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्र दिने गरेका छन ।

यसैगरी, लगानीकर्ताले यस्तो फण्डबाट लिने अर्को फाईदा हो, पुँजीगत लाभ । यदि कुनै लगानीकर्ताले म्युचुअल फन्डको इकाईलाई फाइदामा बेच्दछ भने त्यसलाई पुँजीगत लाभ भनिने गिरी बताउँछन । म्युचुअल फन्डहरु पनि स्टक एक्सचेन्जमा सूचीकृत हुने भएकाले सेयर जस्तै यसको इकाईलाई पनि दैनिक रुपमा खरिदबिक्री गर्न सकिन्छ । यसबाट लगानीकर्ताले फाइदा लिन सक्छन । यसैगरी, लगानीकर्ताले यस्ता फण्डहरुबाट लिने अर्को फाइदा भनेको फण्डको खुद सम्पति मूल्य (न्याभ) बाट पनि हो । यस्तो फण्डको न्याभ बढ्दा लगानीकर्ताले फाइदा लिन सक्ने उनी बताउँछन । ‘सम्पतिको भ्यालु बढ्दा फन्डको इकाईको भाउ पनि महंगो पर्दछ ।’ उनी भन्छन, ‘जसका कारण फाइदामा इकाई बिक्री गर्ने मौका मिल्दछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL