काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनासम्म आउँदा विप्रेषण आप्रवाह रेमिट्यान्स २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा नेपालमा विदेशबाट आउँने रेमिट्यान्स २२.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४ सय ५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०।६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २१।९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।