Logo

सम्पत्ति शुद्धीकरण प्रतिवेदन संसदमा पेश, अब नेपालको कानुन अन्तरराष्ट्रियस्तरको हुँदै

सम्पत्ति शुद्धीकरण प्रतिवेदन संसदमा पेश, अब नेपालको कानुन अन्तरराष्ट्रियस्तरको हुँदै



काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले समितिले दफावार छलफल गरी तयार गरेको उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

गत वैशाख १५ गतेको बैठकमा प्रतिनिधिसभा नियमावलीअनुरुप दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएपछि कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाइएको थियो । उक्त विधेयक समितिमा प्राप्त भएपछि गत जेठ ८ गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गरेका थिए ।

गत भदौ १९ गते समितिले ११ सदस्यीय उपसमिति गठन गरी विधेयकबारे सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियो । उपसमितिको प्रतिवेदन समितिमा पेस भएर छलफल भई असोज २४ गतेको बैठकमा उपसमितिको प्रतिवेदन र उक्त विधेयकमाथि छलफल भई समितिबाट पारित भएको थियो ।

सभापति सुवेदीले विधेयक पारित भएपछि हालको १९ वटा ऐनमा संशोधन भई सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रबद्र्धनमा कानुनी सुधार आउनुका साथै सम्पत्ति शुद्धीकरणका निम्नि नेपालको कानुन अन्तर्राष्ट्रियस्तरको हुने र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL