Logo

चिनीमा अर्बौको चलखेल : सरकार र व्यापारीको मिलेमतोमै चरम अभाव सृजना, किलोकै १५० बढी मूल्य तिर्दै उपभोक्ता

चिनीमा अर्बौको चलखेल : सरकार र व्यापारीको मिलेमतोमै चरम अभाव सृजना, किलोकै १५० बढी मूल्य तिर्दै उपभोक्ता



काठमाडौं । विशेष गरी चाडपर्वको समयमा हरेक बर्ष नेपाली बजारमा खाद्यान्नको कृत्रिम अभाव हुने गर्छ । दशै तिहारको समयमा बढी खपत हुने चिनी, तेल, मसलालगायतका वस्तुको बजारमा कृत्रिम अभाव सृजना गर्ने र कालोबजारी गर्ने प्रवृत्ति विगतदेखि नै रहेको छ । जसका कारण सर्वसाधारणले भने बजारमा निकै महँगो मूल्य तिरेर ती वस्ुतु खरीद गर्नुपर्ने बाध्यता आइलाग्छ । यसले समग्रमा उपभोक्ताको भान्सा प्रभावित हुनेगर्छ । यो बर्ष पनि नेपाली बजारमा चिनीमा कृत्रिम अभाव सृजना गरेर उद्योगी व्यापारीले उपभोक्तामाथि लुट मच्चाएका छन् ।

केही समयअघिसम्म सय रुपैयाँ प्रतिकिलो हाराहरीमा रहेको चिनीको मूल्य अहिले १५० रुपैयाँ बढी पुगेको छ । अझ अहिले बजारमा धेरै पसलहरुमा चिनी नै नपाउने समस्या उपभोक्ताले बेहोरिरहेका छन् । बजारमा सर्वसाधारणले चिनी खरिद गर्दा प्रतिकिलो १ सय ३० रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यकारी अवस्था निम्तिएको छ । अझ भनौ खुद्रा व्यापारीले त कतिपय ग्राहकलाई चिनी नै नभएको भन्दै रित्तो हातसमेत फर्काउन थालेका छन् ।

चाडपवकै मौका पारेर व्यापारीले कृत्रिम अभाव सृजना गरेर मूल्य बढाएर एकैपटक अर्बौ रुपैयाँ कमाउने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । यो वर्षपनि सरकारकोसहयोगमै उद्योगी व्यापारीले चीनी लुकाएर दशैं तिहारकै बेलामा अभाव सिर्जना गर्न सफल भएको एक अधिकारकर्मीले बताए । यो समयमा लाखौं क्विन्टल चिनी बजारमा खपत हुने भएकाले व्यापारीले बढाएको मूल्यबाटमात्रै अर्बौ रुपैयाँ अतिरिक्त कमाउनेछन् । जसको हिस्सा सरकार र सम्बन्धित निकायका अधिकारीहरुलाई पुग्ने भएकाले बजारमा चरम लुट भइरहँदा पनि सरकार र सम्बन्धित निकाय मौन रहेको उनले बताए । पछिल्लो समय नेपाली बजारमा चिनीको हाहाकार मच्चिनु र मूल्य अत्याधिक बढ्नुमा सरकारकै कमजोरी रहेको उनी बताउँछन् ।

उद्योग वाणिज्य आपुर्ति मन्त्रालयले उद्योगी व्यवसायीले आफुसँग चिनी नभएको बताउँदा बताउँदै पनि सरकारी कम्पनीहरु साल्ट ट्रेडिङ र खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीलाई चिनी आयातका लागि अनुमति दिएन । जसका कारण हाल सरकारी निकायका दुबै निकायसँग आवश्यक पर्नेजति चिनी मौज्दात छैन । यसको प्रत्यक्ष फाईदा चाडपर्व अघि नै चिनी लुकाएर अहिले कृत्रिम अभावको सिर्जना गरिरहेका व्यापारीलाई भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् ।

अहिलेको कालोबजारीका लागि सरकार पनि उत्तिकै जिम्मेवार रहेको उनको भनाई छ । खासगरी डिलरहरु वा व्यापारीको स्टकमा रहेको चिनीलाई आफ्नो कब्जामा लिएर साल्ट ट्रेडिङमार्फत सरकारले बेच्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनको आरोप छ । ‘यसअघि पनि सरकारले साल्ट टे«डिङलाई चाडपर्वलाई लक्षित गरी आवश्यक पर्नेजति चिनी आयात गर्न अनुमति नै नदिएका कारण अहिलेको अवस्था निम्तिएको हो,’ उनले भने, ‘हाल साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमा विक्री गर्ने चिनी बजारमा नपाइने, तर व्यापारीको १ सय ६० रुपैयाँसम्म पर्ने चिनी भने फालाफाल पाइनु स्वतः सरकारी मिलेमतोमै कालोबाजारी निम्तिएको मान्न सकिन्छ ।’ स्टक रित्तिएपछि व्यापारीले बेच्ने चिनीको मूल्य यत्तिकै पनि बढ्छ । तर, हाल बजारमा व्यापारीहरुको चिनिको मूल्य बढाउनकै लागि चिनीको कृत्रिम अभावको सिर्जना गरेकोे उनको आरोप छ ।

सरकारी निकायको साल्ट ट्रेडिङसँग हाल ४ सय मेट्रिकटन मात्रै चिनी मौज्दात छ । यसैबाट कम्पनीले उपत्यकाका विभिन्न ८ स्थानबाट प्रतिव्यक्ति २ किलोका दरले प्रतिकिलो ९७ रुपैयाँमा चिनी विक्री गरिरहेको छ । साल्ट ट्रेडिङसँग भएको ४ सय मेट्रिकटन चिनिले २ किलोका दरले बेच्दा दशैंसम्म पुग्नेमा भने सरकारी अधिकारीहरु ढुक्क देखिन्छन् । यो चिनी बजारमा अर्थात खुद्रा व्यापारका लागि पठाउन भने पर्याप्त नभएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारी बताउँछन् । उनका अनुसार बजारको माग प्रतिमहिना ३० हजार मेट्रिकटन छ भने कम्पनीसँग जम्मा ४ सय मेट्रिकटन् मात्रै छ ।

यस्तै बजारमा चिनीको अभाव देखिनुमा होलसेल व्यापारीहरु पनि प्रमुख कारक रहेको खुद्रा व्यापारीहरु बताउँछन् । खुद्रा व्यापारीलाई होलसेलरहरुले हाल चिनी नै नदिएका कारण बजारमा यसको चरम अभावको सिर्जना भएको खुद्रा व्यापार संघका कार्यवाहक अध्यक्ष नरेश बाबु शाहीले बताए । उनका अनुसार सँधैजसो चाडपर्व अर्थात चिनीको बढी उपभोग हुने बेलामै ठुला व्यापारीले कृत्रिम अभाव गरिदिँदा यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्ने गरेको छ । खुद्रा व्यापार संघले हाल सरकारसँग साल्ट ट्रेडिङले बेच्ने चिनी आफुलाई दिएको खण्डमा काठमाडौंका हरेक खुद्रा पसलमा सरकारले दिएकै मूल्यमा चिनी बेच्न सक्ने बताए । तर, यसको जिम्मेवारी विभिन्न निजी क्षेत्रका डिलरहरुलाई दिँदा उनीहरुले कृत्रिम अभावको सिर्जना गराई कालोबजारी गर्ने गरेको उनको पनि आरोप छ ।

खासगरी संघमा आवद्ध व्यापारीहरुले पछिल्लो १ हप्तादेखि बजारबाट चिनी नउठाएको र नपाएकोसमेत उनले बताए । ‘हामीलाई होलसेल पसलहरुले चिनी नै छैन भन्नुहुन्छ, भएपनि अत्याधिक महंगो भन्ने गर्नुभएको छ,’ उनले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेचिरहेको अवस्थामा बढी मूल्य हालेर बढी मूल्यमा चिनी बेच्न नपरोस भनेर पनि हामीले बजारबाट चिनी नउठाएका हौं ।’ उनले पछिल्लो समय बजारमा देखिएको झमेलामा आफुहरु पर्न नचाहेको बताए ।

सरकारी कम्पनीलाई कुबेलामा चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव हुने जानकारी हुँदाहुँदै, हरेक बर्षजसो यो बर्ष पनि व्यापारीले कृत्रिम अभाव गर्ने अनुमान हुँदाहुँदै पनि सरकारले यो बर्ष चाडपर्वका लागि आवश्यक चिनी समयमै ल्याएन । अझ भनौ सस्तो र सुपथ मूल्य बजारमा चिनी पठाउने सरकारी निकायका साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयातको अनुमति उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले बेलैमा नदिएपछि सरकारी निकायसँग बजारमा पठाउने चिनिको मौज्दात शुन्य छ ।

हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौज्दात शुन्य भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बिजखबरलाई जानकारी दिईन् । उनका अनुसार बेलैमा चिनी आयात गर्ने अनुमति नपाएपछि चाडपर्वकै बेलामा चिनीको अभाव भएको हो । तर मन्त्रालयले दुई कम्पनीलाई एक महिना अघि मात्रै १०–१० हजार मेट्रिकटन चिनी आयात गर्ने अनुमति दिएको छ । यस्तो अनुमति भने भारतले निर्यातमा प्रतिवन्ध लगाईसकेपछि र दशैं नजिकिँदै गर्दा मात्रै पाईएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारी बताउँछन् । ‘हामीलाई चिनी आयात गर्ने अनुमति ढिलो आयो, अझ भारतले चिनी निकासीमा प्रतिवन्ध लगाईसकेपछि आयो,’ उनले भने, ‘अब हामीले ल्याउने चिनी तिहारपछि मात्रै ल्याउन सम्भव छ, यदि ल्याएको खण्डमा पनि हाल व्यापारीले बजारमा बेचिरहेको मूल्यभन्दा बढी मूल्यमा बेच्नुपर्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL