Logo

सीआईपीका लागि एनसेल प्रस्तावित, व्यवसायिक क्षेत्रमा मुलुककै प्रतिष्ठित सम्मान

सीआईपीका लागि एनसेल प्रस्तावित, व्यवसायिक क्षेत्रमा मुलुककै प्रतिष्ठित सम्मान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाईल दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारद्वारा प्रदान गरिने ‘व्यावसायिक महत्वपूर्ण व्यक्ति’ अर्थात कमर्शियल्ली ईम्पोर्टेेन्ट पर्सन (सीआईपी) सम्मान पाउने भएको छ । एनसेललाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा ‘सबैभन्दा बढि आयकर दाखिला गर्ने उद्यमी व्यावसायी’ को विधामा सीआईपी सम्मानको प्रस्ताव गरेको हो ।

सीआईपी राष्ट्रपतिबाट प्रदान गरिने व्यवसायिक क्षेत्रमा मुलुककै सबैभन्दा ठूलो प्रतिष्ठित सम्मान हो । यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउने सोचका साथ दिइने गरिन्छ ।

यो सम्मान यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीहरुलाई प्रदान गर्ने गरिएको छ । सीआईपी सम्मान प्राप्त गर्ने व्यक्तिले भीआईपी सरह विमानस्थल तथा सिंहदरबार प्रवेश, प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटघाट तथा र भिसा प्रक्रियामा पनि पहिलो प्राथमिकता पाउने बताइएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, एनसेललाई सीआईपी छनोट उपसमितिले आर्थिक वर्ष ०७०/७१ र ०७१/७२ मा सबैभन्दा बढी आयकर तिरेको आधारमा सीआईपी सम्मान प्रस्ताव गरेको हो ।

केन्द्रले एनसेल लगायत ३८ संस्था तथा व्यक्तिहरुलाई यो सम्मान प्रदान गर्न प्रस्ताव गरेको छ । कुनै दाबी अथवा विरोध भए सुचना जारी गरिएको १५ दिन भित्र जानकारी गराउन केन्द्रले अनुरोध गरेको छ । यो अवधि पश्चात सम्मान प्रदानगर्ने सम्बन्धमा अन्तिम निर्णय हुने केन्द्रका एक अधिकारीले जानकारी दिएका छन् ।

एनसेलले हाल सरकारलाई विविध शुल्क, रोयल्टि र कर अन्र्तगत वैशाख २२, २०७३ सम्ममा झण्डै रू. १२८.६३ अर्ब योगदान गरेको छ । यसमा अग्रिम कर वापत रु ३० अर्ब ६९ करोड, मूल्यअभिवृद्घि कर वापत रु ३९ अर्ब ६६ करोड, लाइसेन्स शुल्कअन्तर्गत रु ७ अर्बभन्दा बढी, रोयल्टि स्वरुप रु ८ अर्ब ९५ करोड लगायत राजश्वहरु संलग्न छन् ।

साथै कम्पनीले ग्रामिण दुरसञ्चार विकास कोषमा पनि रु ४ अर्ब २० करोड योगदान पुर्याएको छ । कम्पनीको लगानी तथा विस्तारसँगै एनसेलले राज्य कोषमागर्ने योगदान प्रत्येक वर्ष बढिरहेको छ ।

आर्थिक वर्ष २०६९/७० र २०७०/७१ का लागि कम्पनीले सरकारबाट उत्कृष्ट करदाताको सम्मान पनि पाइसकेको छ । दीर्घकालिन तथा प्रतिबद्ध लगानीकर्ता भएकोले कम्पनीले आउँदा वर्षमा पनि देशको सबै भन्दा ठूलो करदाताको रुपमा आफ्नो पहिचान कायम राख्ने बताउदै आइरहेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा एनसेलले सरकारलाई आयकर लगायत अन्य विविध शिर्षक अन्र्तगत रु २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा शुल्क बुझाएको थियो ।
गतवर्ष मंसिरमा तत्कालिन अर्थमन्त्रि डा. रामशरण महलले आर्थिक वर्ष २०७०/७१ मा सबैभन्दा बढि कर तिरेको कम्पनीका रुपमा एनसेललाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्