काठमाडौं । इजरायल–हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ नेपालीको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूको खोजी जारी रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् ।
इजरायलको दक्षिणी भेगमा रहेको किबुज अलुमिनमा १७ जना नेपाली विद्यार्थी बस्थे । तीमध्ये ५ जना हमासले उक्त क्षेत्रमा गरेको आक्रमणमा परी घाइते भएका छन् । दुई जना बंकरभित्रै रहेका र तीन जनाको अस्पतालमा उपचार भइरहेको रिजालले जानकारी दिइन् ।
गाजा क्षेत्रबाट नजिकै रहेको किबुज अलुमिन क्षेत्रमा इजरायली सेना अझै पुगिसकेको छैन । त्यहाँको अवस्था अहिले पनि भयभीत रहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । गैरआवासीय नेपाली संघ (एनआएन) इजरायलका अनुसार, सम्पर्कविहीन भएका नेपाली विद्यार्थीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताएको छ ।
नेपाली विद्यार्थीहरू सम्पर्कविहीन भएको क्षेत्रमा अन्ना नामकी स्थानीयले स्थानीय मिडियासित भनेकी छन्, ‘कहिल्यै कल्पनै नगरेको भयानक दृश्य देखिरहेका छौँ । यहाँ मानिसहरू सहयोगको भीख मागिरहेका छन् । उनीहरू रोइरहेका छन् । उनीहरूले हाम्रो घरमा आगो लगाइरहेका छन् ।’ ‘किबुज नजिकैबाट गुडिरहेको गाडीमा आतंकवादीले गोलाबारी गर्दा मेरा बच्चा घाइते भए । उनीहरूलाई हामीले उपचारका लागि पठायौँ । बाटोमा हामीले घाइते र मरेका मानिसहरू देख्यौँ । किबुजलाई घेराबन्दी गरेका छन् ।’
यता इजरायलमा रहेका नेपालीमध्ये केही हताहत भएको आशंका सरकारले गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको जानकारी संसद्लाई गराएका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई इजरायलविरुद्ध प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न र उद्धार गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको जानकारी पनि दिए ।