Logo

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि दिए राजीनामा

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि दिए राजीनामा



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन् । प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि कार्कीले राजीनामा दिएका हुन् ।

शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची भएपनि बहुमत नपाउने निश्चित भएपछि उनले राजीनामा घोषणा गरेका हुन् । कोशी प्रदेशमा एमालेका ४० सांसद रहेका छन् तर कार्कीलाई ६ स्थान रहेको राप्रपाले समेत साथ नदिने भएपछि उनले राजीनामा दिएका हुन् । कोशी प्रदेशमा नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका एक सांसद छन् ।

सर्वोच्च अदालतको परमादेशपछि अल्पमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयसीमा आजसम्मको थियो। भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठित सरकारलाई अन्य दलहरुले साथ नदिएपछि कार्की नेतृत्वको सरकार ३० दिनमै बिदा भएको हो ।

तीन महिना अघि पनि विश्वासको मत पाउन नसकेर पदमुक्त बनेका एमाले नेता कार्की पहिलोपटक पुस २४ मा मुख्यमन्त्री नियुक्त भएर असार १५ मा १७४ दिनपछि पदमुक्त बनेका थिए ।

अब कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने बाटो खुला भएको छ । दोस्रो कार्यकालका लागि प्रदेशसभा गठन भएको १० महिनाभित्र सरकार निर्माणका सबै संवैधानिक विकल्प प्रयोगमा आउने भएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेशसभामा बहुमत जुटाउन सक्ने सांसदले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्