Logo

आजदेखि मौसम सुध्रने, केही दिनदेखिको अत्यासलाग्दो झरीको अवस्था अब नरहने

आजदेखि मौसम सुध्रने, केही दिनदेखिको अत्यासलाग्दो झरीको अवस्था अब नरहने



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए ।

“तर पनि लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अबदेखि भारी वर्षा भने हुन्न”, उनले भने ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

वर्षाका कारण त्यस क्षेत्रबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL