काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ सम्म आउँदा नेपालमा २ खर्ब ६४ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपालमा आर्थिक वर्ष २०७८/७९ मा प्रत्यक्ष वैदेशिक लगानी १६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदले देखाएको छ ।
राष्ट्र बैंकको उक्त तथ्यांक अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीमा चुक्ता पूँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी रहेका ६ सय ९४ कम्पनीमध्ये २ सय ३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षण भएको थियो ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भएको ठुला ४८, मझौला ३० र साना ६ सय १२ कम्पनी छन् । सन् २०२०–२१ सम्म जसको कुल पूँजीको आकार करिब २ खर्ब २७ अर्ब ५९ करोड रहेको उक्त तथ्यांकमा उल्लेख छ । नेपालमा कुल ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रहेको लगानी रहेको छ । चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्याण्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।