Logo

आर्थिक मन्दीको असर : घट्यो स्मार्टफोनको आयात, भन्सार राजस्वमा १५ करोडको गिरावट

आर्थिक मन्दीको असर : घट्यो स्मार्टफोनको आयात, भन्सार राजस्वमा १५ करोडको गिरावट



काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव व्यापार व्यवसायमा देखिन थालेको छ । यसको उदाहरण चालु आर्थिक बर्षको साउन र भदौमा नेपालमा स्मार्टफोनको आयातलाई हेरेपनि देखिन्छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्षको तुलनामा चालु आवको २ महिनामा मोबाईलको आयात संख्यामा ७२ हजार ५ सय ४ थानले र रकममा ८१ करोड ५६ लाख ५० हजार रुपैयाँले घटेको छ ।

अर्थात गत आर्थिक बर्षको साउन र भदौमा मात्रै नेपालमा ६ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरका ४ लाख ३८ हजार ९ सय ८५ थान स्मार्टफोन आयात भएका थिए । तर, त्यो संख्या चालु आवको सोही अवधिमा घटेर ५ अर्ब ३६ करोड ५२ लाख रुपैयाँ बराबरका ३ लाख ६६ हजार ४ सय ८१ थान मोबाईल पुगेका छन् । यसरी मोबाइलको आयात घट्दा समग्रमा व्यापारघाटामा केहि राहत भएपनि यसबाट उठाइने राजस्वमा भने गिरावट आएको भन्सार विभागले जानकारी दिएको छ ।

विभागका अनुसार गत आर्थिक बर्षको पहिलो २ महिनामा मोबाईल फोनको आयातमार्फत १ अर्ब १५ करोड रुपैयाँ भन्सार राजस्व उठाएको नेपालले चालु आवको सोही अवधिमा भने स्मार्टफोन आयातमार्फत उठाउने राजस्व १५ अर्ब कम उठाएको छ । अर्थात चालु आवको पहिलो २ महिनामा नेपालले जम्मा १ अर्ब रुपैयाँ बराबर मात्रै राजस्व आम्दानी गरेको भन्सार विभागका तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय देखिएको व्यापार तथा आर्थिक मन्दीका कारण बजारमा मोबाइलको विक्री नै सुस्ताएकाले आयात घटेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । ताम्राकार मोबाइल व्यापार संघका पूर्व अध्यक्ष जगत साउँद नेपाली बजारमा मोबाईल फोनको उच्च मूल्य र यसैबेला देखिएको आर्थिक मन्दीले यसको विक्री नै घटेको बताउँछन् । उनका अनुसार सामान्यतया महंगा मोबाईलहरु विदेका निश्चित देशहरुको तुलनामा नेपालमा अत्याधिक महंगा छन् ।

यसैबेला सर्वसाधारणको खल्ती पनि कमजोर भएपछि यसको विक्री वितरणमा धक्का परेसँगै आयातमा असर परेको उनको भनाई छ । ‘नेपालमा फोनको मूल्य अत्याधिक महंगो छ, धेरैजसो विदेश गएकाले २ ओटा सेटसम्म उतैबाट पठाउँछन् त्यसको तथ्यांक भन्सारमा प्रविष्ट हुँदैन,’ उनले भने, ‘यसरी विदेशबाट मोबाईल पठाएपछि नेपालमा मोबाईल किन्ने घटेका छन् जसको असर आयातमा पनि देखियो ।’

उनी खासगरी मोबाईल खरिद गर्ने युवापुस्ता विदेश पलायन भएकाले पनि यसको प्रत्यक्ष प्रभाव मोबाइलको व्यापारमा परेको बताउँछन् । यता मोबाईल फोन आयातकर्ता संघका उपाध्यक्ष सन्जय अग्रवाल भने नेपालमा ग्रे मार्केट मौलाएपछि वैधानिक च्यानलबाट आयात हुने मोबाइलको संख्या घटेको बताउँछन् । सरकारले अवैध आयातलाई प्रश्रय दिनका लागि विभिन्न लुपहोल छोडिदिँदा ग्रे मार्केट मौलाएको र यसको असर आयातमा परेको उनको भनाई छ ।

संघले पछिल्लो ५ बर्षदेखि मोबाइल फोनको ग्रे मार्केट नियन्त्रणका लागि भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गर्न विभिन्न सरकारी निकायहरुहरुलाई झकझक्याइरहेको भएपनि हालसम्म उक्त प्रणाली नेपालमा लागू हुन सकेको छैन । संघका अुनसार हाल नेपालमा खपत हुने करिव ४० प्रतिशत मोबाइल फोन ग्रे मार्केटकै छन् । यस्तै उपाध्यक्ष अग्रवाल पछिल्लो समय नेपालको क्रयशक्ति घटेका कारण पनि नेपालमा मोबाईलको विक्री घटेको र त्यसको असर आयातमा देखिएको बताउँछन् ।

नेपालले गत आर्थिक बर्षमा मात्रै कुल २४ अर्ब ३९ करोड ६७ लाख रुपेयाँ बराबरको स्मार्टफोनहरु आयात गरेको थियो । जसको सबैभन्दा ठूलो हिस्सा चीनको छ । गत आवमा चीनबाट मात्रै १५ अर्ब ४ करोड रुपैयाँ बराबरको स्मार्टफोन नेपालमा आयात भएको देखिन्छ । यस्तै यसै अवधिमा भारतबाट भने ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।

नेपालमा चालु आवको २ महिनामा भने चीनबाट ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको २ लाख ६४ हजार थान मोबाईल आयात भएको छ । यस्तै यसै अवधिमा भारतबाट भने १ अर्ब ७८ करोड रुपैयाँ बराबरको १ लाख १ हजार ७ सय ४५ थान मोबाईल आयात गरेको हो । नेपालमा पछिल्लो २ महिनामा अमेरिका, जापान, दुबई, भियतनाम, अष्ट्रेलिया, कोरिया, कतार, साउदी अरेबियालगायत ३७ देशबाट स्मार्टफोन आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL