Logo

सुन आयातको कोटा बढाउँदा बजारमा कस्तो प्रभाव पर्ला ?

सुन आयातको कोटा बढाउँदा बजारमा कस्तो प्रभाव पर्ला ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा २० किलो पुर्याउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाल दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाउँदै २० किलो पुर्याउन सिफारिस गरेपछि राष्ट्र बैंकले कोटा बढाउने तयारी गरेको हो । बजारमा सुनको माग बढेको कारण सुनको कोटा बढाउन लागिएको राष्ट्र बैंकका सह प्रवक्ता डिल्लिराज पोखरेल बताउँछन ।

सुन आयातको कोटा बढाउँदा सुनको तस्करी पनि कम हुने अनुमानमा सुनको कोटा बढाउन लागिएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन । ‘पछिल्लो समय सुनको तस्करी व्यापक रुपमा बढेको छ’, उनी भन्छन, ‘यसमा केहि नियन्त्रण आउँछ कि भनेर राष्ट्र बैंकले कोटा बढाउने निर्णय गरेको हो ।’

नेपाल राष्ट्र बैंकले आइतबारदेखि सोमबारसम्म सुनको कोटा थप्न परिपत्र जारी गर्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले बताए । सुन आयात तथा विक्री वितरण कार्यविधिमा संशोधन गरेपछि सुन आयातको कोटा बढाउने तयारी भएको उनी बताउँछन । यसैगरी, अहिलेको अवस्थामा देशको ढुकुटी (विदेशी विनिमय सञ्चिति) पनि प्रशस्त भएको कारण सुनको कोटा थप्न तयारी राष्ट्र बैंकले गरेको हो ।

हाल दैनिक १० केजी सुनको आयात भइरहेको छ । अहिले भइरहेको आयातले बजारको माग धान्न नसक्ने भन्दै सुन व्यवसायीले लामो समयदेखि कोटा बढाउन माग गर्दै आएका छन । यस अघि २०७८ फागुन २१ सम्म दैनिक २० किलो सुन आयात भइरहेको थियो । कोरोना महामारीको कारण २०७८ फागुन २२ देखि १० किलोमा झारिएको थियो । कोरोना महामारी कम भएसंगै व्यवसायीले सुनको कोटा बढाउको लागि पटक–पटक राष्ट्र बैंकलाई आग्रह गरेका थिए । तर, राष्ट्र बैंकले सुनको कोटा बढाएको थिएन ।

हाल राष्ट्र बैंक कोटा बढाउने कुरामा सकारात्मक देखिएको छ । राष्ट्र बैंकले सुनको कोटा बढाउँदा आगामी दिनमा बजारमा सुनको माग सहजसँग पुरा हुँने सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन । ‘अहिले बजारमा सुनको माग १५ केजिको हाराहारीमा रहेको छ, भने आयात १० केजिमात्र भइरहेको छ।’ उनी भन्छन, ‘मागभन्दा आयात कम हुँदा बजारमा सुन तस्करी मौलाएको छ ।’

सुनको कोटा बढाउँदा तस्करी पनि कम हुने शाक्यको पनि अनुमान छ । यसैगरी, चाडपर्व नजिकिएसंगै सुनको माग बढ्ने भएको कारण सुनको कोटा बढ्दा व्यापारीलाई सहज हुने उनी बताउँछन । ‘दशै तिहार पनि नजिकिएको छ, भने बिहेको सिजन पनि सुरु हुने बेला भएको छ ।’ उनी भन्छन, ‘जसले गर्दा आगामी दिनमा सुनको माग दैनिक २० केजिभन्दा माथि नै रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL