Logo

मुद्रास्फितीको लक्ष्यमा सरकार पहिलो महिनामै असफल, नेपालीको भान्छा ४५ प्रतिशतसम्म महँगियो

मुद्रास्फितीको लक्ष्यमा सरकार पहिलो महिनामै असफल, नेपालीको भान्छा ४५ प्रतिशतसम्म महँगियो



काठमाडौं । सरकारले बजेटमार्फत चालू आर्थिक वर्षका लागि मुद्रा स्फिती ६.५ प्रतिशतभन्दा तल राख्ने लक्ष्य पहिलो महिनामै असफल भएको छ । सरकार तथा नेपाल राष्ट्र बैंकले बजेट र मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षको मुद्रास्फिती उक्त विन्दुमा राख्ने लक्ष्य लिएकोमा साउन महिनामै वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशतमा पुगेको छ ।

तर अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ । यसैगरी खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ ।

सो अबधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.१३ प्रतिशतले घटेको छ । साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.७९ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.८१ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत रहेको छ । २०७९ साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.३९ प्रतिशत, ८.७२ प्रतिशत, ८.६४ प्रतिशत र ६.६४ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL