काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख स्वर्गीय सुवाचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको निर्णयअनुसार नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो । नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । मंगलबार राति हृदयघातका कारण निधन भएका नेम्वाङका दुई छोराहरु बुधबार नेपाल आइपुगेसँगै बिहीबार अन्त्येष्टि गर्न लागिएको हो । नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट र कान्छा छोरा सुहाङ अस्ट्रेलियाबाट नेपाल आइपुगेका हुन् ।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थिव शरीर मंगलबारदेखि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यही पुगेर दुई छोराहरुले समेत श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि भने उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवास लगिएको थियो ।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा बुधबार पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो । यस्तै चीन भ्रमण छोट्याई स्वदेश फर्किएका महासचिव शंकर पोखरेलले पनि उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरे । यसअघि मंगलबार पनि प्रधानमन्त्रीसहित विभिन्न दलका नेता शीर्ष नेताका साथै लब्ध प्रतिष्ठित व्यक्तित्व र शुभेच्छुकले नेम्वाङप्रति पार्टी कार्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
एमालेका अनुसार उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि बिहीबार विहान ११ बजे पशुपति आर्यघाटमा हुनेछ । शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शंखपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न सक्ने एमालेले जनाएको छ । उनको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज, नारायणगोपाल चोक, धुम्वाराही, चावहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुग्नेछ ।
बालुवाटारस्थित निवासमा मध्यरातमा अचेत भएर ढलेका उनलाई परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । शिक्षण अस्पतालले नेम्वाङलाई अस्पताल ल्याउनेबित्तिकै जाँच गर्दा जीवनसम्बन्धी कुनै चालन नदेखिएको बताएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्त कुमार दासले उनको आँखाको नानी फुलिसकेको र स्थिर रहेको तथा बीपी र प्लस अनरेकर्डेबल भएकाले चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गरेको जनाएका छन् । तर, त्यति गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि मंगलबार बिहान ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ ।