काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालनमा ल्याउन लागेको ‘नेप्से–३०’ इन्डेक्सको कार्यविधि स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कार्यविधिलाई स्वीकृति दिएसँगै ‘नेप्से–३०’ सञ्चालनमा ल्याउन बाटो खुला भएको छ । नेप्सेले नयाँ परिसूचक ‘नेप्से–३०’ इन्डेक्सको परीक्षण सुरु गरेको करिब २ महिनापछि औपचारिक रुपमा सञ्चालन गर्ने बाटो खुलेको हो ।
नेप्सेको सोमबार बसेको सञ्चालक समिति बैठकले ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड सूचकांक विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि, २०७९’ पास गरेसँगै नेप्से ३० इन्डेक्सको औपचारिक सुरुवात गर्ने बाटो खुलेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । अवका दिनमा उक्त कार्यविधिलाई कसरी कार्यान्वयनमा लैजाने तथा उक्त इन्डेक्समा कस्ता कस्ता कम्पनी राख्ने भन्ने विषयमा थप अध्ययन गर्न छुट्टै कमिटि गठन गर्ने निर्णय गरिएको समेत उनले जानकारी दिए ।
साथै सोही समितिले ‘नेप्से–३०’ कहिलेबाट संचालनमा ल्याउने भन्ने मिति तय गर्नेसमेत उनले जानकारी दिए । ‘यो कार्यविधि अन्तरगत आगामी दिनमा ‘इन्डेक्स ट्रेडिङ’ लाई समेत कार्यान्वयनमा ल्याईने छ,’ उनले भने, ‘नेपालको धितोपत्र बजारमा अलग्गै इन्डेक्स बनाएर कारोबारमा ल्याउन लागिएको यो पहिलो पटक हो ।’ हाल सूचीकृत सबै कम्पनीलाई एउटै बास्केटमा राखेर नेप्से सूचकमार्फत सेयर कारोबार तथा गणना हुँदै आएको छ ।
‘नेप्से–३०’ संचालनका लागि आवश्यक पर्ने सर्भर (आइटी प्रणाली) समेत तयार गरिएको छ । नेप्सेले नमुना कम्पनी छनोट गरेर गत साउन ९ गतेदेखी यसको आन्तरिक परीक्षण गरिहेको पराजुली बताउँछन । ‘आन्तरिक परीक्षणले ‘नेप्से ३०’ इन्डेक्स सञ्चालन सम्भव देखाएको छ,’ उनी भन्छन, ‘नेप्से ३०’ मा बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत्, उत्पादनमूलक र व्यापार तथा सेवा गरी ६ उपसमुहका कम्पनीलाई यसमा समावेश गरिनेछ ।’ जसमा एउटा क्षेत्रबाट अनिवार्य रूपमा न्यूनतम एक र अधिकतम आठवटा कम्पनी समावेश गरिने उल्लेख नेप्सेले तयार पारेको कार्यविधिमा उल्लेख छ । नेप्सेले तोकेको मापदण्डबाट यसका लागि उत्कृष्ट ३० कम्पनी छनोट गरिनेछ ।
कम्पनीको प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर नेटवर्थ (किताबी मूल्य) बढी हुनुपर्ने नेप्सेले तयार पारेको मापदण्ड तोकिएको छ । साथै, पछिल्लो पाँच आर्थिक वर्षमध्ये तीन आवमा कम्पनी खुद नाफामा गएको हुनुपर्नेछ । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी चुक्ता पुँजीको न्यूनतम १० प्रतिशत हुनुपर्नेछ । साथै, प्रतिसेयर आम्दानी सोही वर्षको मुद्रास्फीति दरभन्दा बढी हुनुपर्ने सर्त पनि तोकिएको छ । कम्पनीहरूले कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको वा फ्रिफ्लोट पुँजीकरण १ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । साथै, कम्पनीको सेयरधनी संख्या पनि कम्तीमा २० हजार हुनुपर्नेछ ।
त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत न्यूनतम २५ लाख रुपैयाँको सेयर कारोबार भएको हुनु पर्नेछ । भने पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम पाँच हजार कित्ताको सेयर खरिदबिक्री हुनुपर्नेछ । यसैगरी, ‘नेप्से–३०’ मा पर्न पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम ४० पटक कारोबार भएको हुनुपर्नेछ । त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा भएका कारोबार दिनहरूमध्ये ७५ प्रतिशतभन्दा बढी दिनहरूमा कारोबार भएको हुनुपर्ने उल्लेख गरिएको छ ।