Logo

विद्युतीय सामग्री सप्लायर्सको नाममा यी सात कम्पनीले गर्थे सुन तस्करी, यस्तो थियो तस्करीको धन्दा

विद्युतीय सामग्री सप्लायर्सको नाममा यी सात कम्पनीले गर्थे सुन तस्करी, यस्तो थियो तस्करीको धन्दा



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले इलेक्ट्रिक सप्लायर्सको नाममा सुन तस्करीमा संलग्न ७ कम्पनीको नाम सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कम्पनीहरुको नाम र संचालक सार्वजनिक गरिएका हुन् ।

जसममध्ये बाँसबारीको छुंगक इलेक्ट्रिक सप्लायर्स संचालन गर्ने लेखनाथ कार्की डोली, चाबहिलको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिका संचालक राम कुमार भुजेललगायत छन् ।

यस्तै सप्लायर्स कम्पनी दर्ता गराइ सामाखुसीको ह्वाडा इलेक्ट्रिक सप्लायर्स, वाँसवारीस्थित पवाटी ईलेक्ट्रिक सप्लायर्स र हात्तिगौडाको दोलखा इलेक्ट्रिक सप्लायर्स पनि यो कार्यमा संलग्न छन् । यी कम्पनीहरुको संचालकमा क्रमशः कुमार बहादुर भुजेल, राम बहादुर भुजेल र बिकुन्द्र भुजेल रहेका छन् ।

यस्तै बालुवाटारको रेडी ट्रेड प्रालि र बुढानिलकण्ठको सरिता सप्लायर्स पनि सुन तस्करीका प्रमुख कम्पनी हुन् । यी दुई कम्पनीको संचालकमा भने दिलिप भुजेल र सरिता तामाङ छन् । उनीहरुलाई सिआईबीले बुधबार सरकारी अदालतमा बुझाएको छ । उनिहरुले कम्पनीको नाममा विभिन्न वस्तुहरु विदेशबाट ल्याएर त्यसभित्र सुन पनि लुकाएर ल्याउने गरेका थिए । त्यसरी ल्याएको सुन लाजिम्पावट र टोखोको गोदाममा लगेर गाल्ने गरेको पाईएको छ ।

यो प्रकरणमा पक्राउ परेकामध्ये ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी, ४ जना भन्सार एजेन्ट, ३ जना कार्गाे एजेन्ट, १ जना ट्याक्सी चालक, भाषा अनुवादक र कोठा खोज्ने एक जना, कम्पनी खोल्ने १ २ जना, मालवस्तु व्यवस्थापन गर्ने २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । बाँकी १८ जना भने फरार रहेको सिआईबीले जानकारी दिएको छ ।

उक्त प्रकरणमा प्रत्यक्ष रुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख किरण बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताए । उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ । त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्को डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पु¥याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिए ।

उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएकोबताए। विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनको भनाइ थियो । तहगत रुपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गो कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको बताए ।

भन्सारको भौतिक मूल्याङ्कन र जाँचपासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्ने गर्दछ तर त्यहाँ संलग्न कर्मचारीहरु पनि अनुसन्धानको दायरमा रहेका छन् । सिआइबीले अब केही बेरमा उक्त रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाउने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबी लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्