Logo

ताइवानदेखि चीनसम्मका तस्करले भित्र्याए ३०२ किलो अवैध सुन, ३ अर्ब ५० करोड विगोसहित मुद्दा दायर गरिने

ताइवानदेखि चीनसम्मका तस्करले भित्र्याए ३०२ किलो अवैध सुन, ३ अर्ब ५० करोड विगोसहित मुद्दा दायर गरिने



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले हङङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार भएको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सिआइबीले प्रतिवेदन तयार भएको जानकारी दिएको हो । सिआइबीका अनुसार ताइवानदेखि चीनसम्मका तस्करले विभिन्न समयमा ३०२ किलो अवैध सुन नेपाल भित्र्याएको अनुसन्धानबाट खुलेको बताएको छ ।

सो परिणामको सुनको मूल्य ३ अर्ब ५० करोड हाराहारी रहेको जनाउँदै सीआइबीले सो परिणामको विगोसहित मुद्दा दायर गर्न आज जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने जानकारी दिएको छ ।सीआइबीका अनुसार यो प्रकरणमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको र ३५ दिनसम्म प्राविधिक टिमले दिनको १८ घण्टा काम गरेको बताएको छ ।

यस्तै यो प्रकरणमा ३२ जना पक्राउ परेको र पक्राउ परेकामध्ये २३ जना नेपाली, ९ जना विदेशी रहेको जानकारी दिएको छ । यस्तै १८ जना फरार रहेकोमा, फरार मध्ये १४ विदेशी र ४ नेपाली रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सुन तस्करीमा ताइवान, चिनियाँ, हङकङ, मकाउ र भारतीय नागरिक संलग्न देखिएको पनि सीआइबीले जानकारी दिएको छ । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित भन्सार एजेन्ट र सुन व्यापारीसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL