काठमाडौं । नेपालको पर्याटन क्षेत्रमा लगानी आकर्षण कायमै रहेको देखिएको छ । वैदेशिक लगानीकर्ताको मुख्य आकर्षण रहँदै आएको पर्यटन क्षेत्रमा स्वदेशी लगानीकर्ताले समेत ठूलो लगानी गरिरहेका छन् । पर्यटनमा पनि विशेषगरि होटलमा लगानी बढ्दो छ ।
चालु आवको भदौ महिनामा हालसम्म होटलमा झण्डै ४ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । उद्योग विभागले हालै उपलब्ध गराएका विवरणअनुसार भदौ एकदेखि २४ गतेसम्म मात्रै विभिन्न १० होटलमार्फत ३ अर्ब ७८ करोड १८ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार भदौमा २ ठूला, ३ मझौला र ५ ओटा साना गरी होटल क्षेत्रका १० परियोजनामार्फत उक्त लगानीको प्रस्ताव आएको हो ।
भदौ महिनामै उद्योग विभागबाट लगानी प्रस्ताव स्वीकृत पाएका दुई ठुला होटलहरुमा होटल बुद्ध स्टार र वार्टफोर्ड होटल म्यानेजमेन्ट छन् । भदौको १२ गते उद्योग विभागमा दर्ता भएको होटल बुद्ध स्टार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निर्माण हुने बताइएको छ । १ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ कुल पुँजीसहित विभागमा दर्ता भएको होटलमा १ सय २० जना अट्ने रेस्टुरेन्ट, २ सय बेड र ५ सय जना बस्न मिल्ने ब्यांक्वेट हल बन्ने बताईएको छ । शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको यो होटलले १०० केभिए बिजुली खपत गर्ने बताइएको छ । यो होटलमार्फत १ सय ३ जनाले रोजगारी पाउने बताईएको छ ।
यस्तै भदौकै १७ गते दर्ता भएको वार्टफोर्ड होटल म्यानेजमेन्टले भने कास्की जिल्लाको पोखरामा होटल निर्माण गर्ने भएको हो । कम्पनीले १ अर्ब १६ करोड ७५ लाख रुपैयाँ कुल पुँजीमा २ सय जना अट्ने रेस्टुरेन्ट र ९२ बेडसहितको होटल संचालनमा ल्याउन लागेको हो । शतप्रतिशत नेपाली लगानीमै निर्माण हुने यो होटलले पनि ८ सय ५० केभिए बिजुली खपत गर्ने र ७९ जनालाई रोजगारी दिने बताईएको छ ।
यता भदौमै दर्ता भएको मझौला होटलहरुमा भने गोरखामा ६५ बेडसहितको माईन्डफुल स्केप रिसोर्ट, काठमाडौंमा ३२ बेडसहितको डिब बुटिक होटल र काठमाडौंमै २२ बेडसहितको सिवङ झी रेस्टुरेन्ट प्रालि रहेका छन् । यी तीनै परियोजनाले होटल निर्माण गर्नका लागि क्रमशः २० करोड, २० करोड र १० करोड रुपैयाँ कुल पुँजीको प्रस्ताव गरेका हुन् । यी तीन होटलमध्ये डिज बुटिक होटलबाहेक अन्य दुई होटल भने शतप्रतिशत विदेशी लगानीमा संचालन हुने बताइएको छ । यी होटल सञ्चालनमा आउँदा प्रत्यक्ष रुपमै एक हजार हाराहारी रोजगारी श्रृजना हुने आँकलन छ ।