काठमाडौं । नेपाली श्रमिक कार्यरत प्रमुख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरु र नियोग प्रमुखहरु काठमाडौ आएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा फेरिएको अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न उनीहरु काठमाडौ आएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा आज र भोलि हुने छलफलमा श्रम स्वीकृतिदेखि नेपाली श्रमिकले भोगेका समस्या र समाधानको उपायको विषयमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सुरक्षित वैदेशिक रोजगारीका लागि श्रमिक भर्ना प्रक्रिया, घरेलु श्रमिकको भर्नासम्बन्धी लिइएको मापदण्ड, वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण, खाडी र मलेसियामा कार्यरत नेपालीको श्रमिकको अवस्थाबारे राजदूतहरुले जानकारी गराउने छन् ।
यस्तै युरोप रोजगारीको विषयमा पनि छलफल हुने जनाइएको छ । पछिल्लो समय युरोपमा नेपाली श्रमिकको उच्च माग भए पनि श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणलाई सहजीकरण र संशोधन गर्नका लागि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका बनाए पनि परराष्ट्रबाट अगाडि बढेको छैन । युरोपमा मागपत्र प्रमाणीकरण रोकिँदा संस्थागत रूपमा नेपाली श्रमिक युरोप जानबाट वञ्चित भइरहेका छन् ।