Logo

सातौँ राष्ट्रिय कृषि गणनाको नतिजा सार्वजनिक : नेपालमा कृषि गर्ने जमिनको क्षेत्रफल घट्यो, कृषक परिवार बढ्यो

सातौँ राष्ट्रिय कृषि गणनाको नतिजा सार्वजनिक : नेपालमा कृषि गर्ने जमिनको क्षेत्रफल घट्यो, कृषक परिवार बढ्यो



काठमाडौं । नेपालमा कृषियोग्य जग्गा घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौँ राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक हेर्दा विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको देखाएको हो ।

राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । उक्त तथ्यांक अनुसार अहिले नेपालमा २२ लाख हेक्टर जग्गामा मात्रै कृषि खेती भइरहेको छ ।

पछिल्लो कृषि गणनामा २०७८ मा जग्गा भएका र पशुपक्षी मात्र भएका समेत गरी ३३ लाख ७२ हजार अर्थात् ८२ प्रतिशत कृषक परिवारले आफ्नै मात्र मात्र हक भोगको जग्गा चलन गरेका छन् । छ लाख ८९ हजार (१७ प्रतिशत) कृषक परिवारले आफ्नो परिवारको हक भोगका साथै अरूको हक भोगको जग्गा मिलाएर चलन गरेका छन् ।

अरूको हक भोगको जग्गा मात्र चलन गर्ने कृषक परिवारको सङ्ख्या ५९ हजार अर्थात् १ प्रतिशत मात्र छ । गत कृषि गणना २०६८ अनुसार यो सङ्ख्या क्रमशः ३२ लाख ४२ हजार पाँच लाख ४१ हजार र ३५ हजार थियो । यसैगरी पछिल्लो कृषि गणनाअनुसार अन्य प्रकारको जग्गा मात्र उपभोग गर्ने कृषक परिवार सङ्ख्या १० हजार (०.२ प्रतिशत) रहेको छ ।

देशभरमा कृषक परिवारले चलन गरेको जम्मा २२ लाख १८ हजार हेक्टर जग्गा मध्ये तीन लाख १२ हजार हेक्टर (१४ प्रतिशत) जग्गा अरूको हकको छ । जम्मा जग्गा मध्ये १८ लाख ९६ हजार हेक्टर (८५ प्रतिशत) जग्गा परिवारको आफ्नै हक भोगको जग्गा छ । अन्य प्रकारको उपभोग अन्तर्गत चलन गरेको जम्मा जग्गाको क्षेत्रफल करिब १० हजार हेक्टर (०.५ प्रतिशत) रहेको छ ।

अरूको हकको जग्गा कमाउने विभिन्न शर्त मध्ये वाली बाँड्ने (अधियाँ, बटैया) शर्तमा कमाउने चलन बढी देखिएको छ । २०७८ सालमा अर्काको जग्गा लिएर चलन गर्ने कृषक परिवार मध्ये ४८ प्रतिशत कृषक परिवारले वाली बाँड्ने (अधियाँ बटैया गर्ने शर्तमा जग्गा कमाएका छन् । जग्गाको हिसाब गर्दा यो शर्तमा कमाएको जग्गा अरूको हकको कमाएको सम्पूर्ण जग्गा मध्ये ५२ प्रतिशत हुन आउँछ ।

जग्गा कमाउने अर्को प्रचलित शर्तमा नगद तथा जिन्सी ठेका पर्दछ । अरूको हकको जग्गा लिएर कमाएको सम्पूर्ण जग्गा मध्ये २३ प्रतिशत जग्गा नगद ÷ जिन्सी ठेक्का बुझाउने शर्तमा लिएर कमाएका थिए । बन्धकी राखेको जग्गा कमाउने अर्को प्रकारको व्यवस्था पनि चल्तीमा छ ।

प्रतिक्रिया दिनुहोस्