Logo

सुस्त विकास दर, रेकर्ड बेरोजगारी र कम वैदेशिक लगानी : डुब्नै लागेको हो त चीनको अर्थतन्त्र ?

सुस्त विकास दर, रेकर्ड बेरोजगारी र कम वैदेशिक लगानी : डुब्नै लागेको हो त चीनको अर्थतन्त्र ?



काठमाडौं । चीनको अर्थतन्त्र अहिले खराब चरणबाट गुज्रिरहेको छ । पछिल्लो ६ महिना चिनियाँ अर्थतन्त्रका लागि राम्रो रहेन । चीनको अर्थतन्त्र खस्कँदै गइरहेको छ । चीनमा युवाको रेकर्ड बेरोजगारी, कम वैदेशिक लगानी र कमजोर निर्यात जस्ता धेरै समस्या चीनले सामना गरिरहेको छ । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बढ्दो असन्तुष्टिको अनुमान गर्दै चिनियाँ अर्थतन्त्रको भविष्यलाई खतरनाक भनेका छन् ।

अर्थव्यवस्थामा घाटा

चीनको मुद्रास्फीतिको तथ्याङ्कले जुलाईमा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अघिल्लो वर्षको तुलनामा ०.३ प्रतिशतले कम भएको देखाउँछ । यसअघि, सीपीआईमा यस्तो गिरावट फेब्रुअरी २०२१ मा देखिएको थियो । सीपीआई कुनै पनि वस्तु वा सेवाको लागि आम मानिसले तिर्नु पर्ने पैसाको विवरण दिने एउटा सूचकांक हो । सामानको मूल्य सामान्यभन्दा बढ्यो वा घट्यो भने अर्थतन्त्रलाई फाइदा हुन्छ । तर यदि धेरै छिटो भाउ बढ्न वा घट्न थाल्यो भने त्यसको मार अर्थतन्त्रले बेहोर्नुपर्छ । चीनमा पनि त्यस्तै भएको छ ।

अचल सम्पत्ति संकट

चीनको आर्थिक समस्याको केन्द्रविन्दु यसको सम्पत्ति बजार हो । चिनियाँ रियल स्टेट कम्पनीहरूले दोहोरो मार खेपिरहेका छन् । माग नहुँदा घर बेच्न नसकेकोले कमाइ पनि हुँदैन । अमेरिकामा २००८ आएकोे संकट विश्लेषण गर्दै चिनियाँ सरकारले विकासकर्ताहरूको ऋण लिन सक्ने क्षमतालाई सीमित गर्यो । यसको असर उनीहरुले आफूले लिएको अर्बौं डलर तिर्न असफल भए । अहिले देशमा घरको माग घटेको छ, जसका कारण घरजग्गाको मूल्य पनि घटेको छ । यी कारणहरूले गर्दा, चीनमा रियल स्टेट मालिकहरू विगत तीन वर्षमा पहिलेको भन्दा गरिब भएका छन् । धेरै अर्थशास्त्रीहरूका अनुसार सम्पत्ति बजारको यो सङ्कटबाट बाहिर आउन अझै धेरै वर्ष लाग्ने छ ।

निर्यात-आयातको अवस्था पनि राम्रो छैन

घरजग्गाबाहेक चीनको आयात–निर्यातको आँकडा पनि राम्रो छैन । केही महिनायता चीनको निर्यात–आयात निरन्तर घटिरहेको छ । चीनको निर्यात वार्षिक आधारमा १४.५ प्रतिशतले घटेको छ । यो फेब्रुअरी २०२० अर्थात महामारीको सुरुवातपछिकै सबैभन्दा ठूलो गिरावट हो ।

बढ्दो बेरोजगारी

चीनमा पनि युवा बेरोजगारी तीव्र गतिमा बढिरहेको छ । चीनमा लाखौं स्नातकहरू रोजगारीको खोजीमा छन् र शहरी क्षेत्रमा ‘व्हाइट कलर रोजगार’ खोज्न संघर्ष गरिरहेका छन् । जुलाई २०२३ को तथ्यांकअनुसार १६ देखि २५ वर्ष उमेर समूहका २१.३ प्रतिशत युवा देशमा कामको खोजीमा छन्, तर अधिकारीहरूले अहिले रोजगारीको तथ्यांक सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।

किन यस्तो भयो ?

चीनको अर्थतन्त्र यो अवस्थामा पुग्नुको मुख्य कारण मागको अभाव हो । चीनले कोभिड–१९ विरुद्ध लड्न निकै कडा नीति अपनाएको थियो । यसको परिणाम ठूलो संख्यामा व्यापार बन्द भयो, रोजगारी गुम्यो । आर्थिक प्रगतिको गति सुस्त भयो । यी कारणहरूले गर्दा, मानिसहरूले गर्ने बचत निकै कम भयो । चीनलाई कोभिड प्रतिबन्धले डुबाएको छ । यस्तै निजी कम्पनीको व्यापारमा चिनियाँ सरकारको धेरै हस्तक्षेप छ । कम्पनीहरूले यो हस्तक्षेप मन पराउँदैनन् । जसका कारण अहिले धेरै विदेशी कम्पनीले चीन छाडेर अन्य देशमा कारखाना स्थापना गरिरहेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL