काठमाडौं । लामो समयदेखि ओरालो लागेको सेयर बजार थप पेनिक बन्न पुगेको छ । घट्दो बजारमा लगानीकर्तामाथि परेको मार्जिन कलको प्रेसर र लगानीकर्ताले उक्त मार्जिन रकम थप गर्न नसकेपछि बैंकहरुले त्यसरी धितोमा राखेको सेयर बिक्री गर्न थालेपछि नेप्से थप प्रेसरमा परेको हो ।
धितोमा राखेको सेयरको मूल्य २० प्रतिशतभन्दा बढीले घटेपछि बैंकले मार्जिन कल गर्न सक्दछ । तर, पछिल्लो समय कतिपय कम्पनीको सेयर मूल्य ६० प्रतिशतभन्दा बढीले घटेको र त्यसरी घटेको सेयरमा लगानीकर्ताले मार्जिन थप गर्न नसेकेपछि बैंकहरुले त्यस्ता सेयर बिक्री गरिदिन थालेका हुन् । ‘अहिले धेरैजसो कम्पनीको सेयर मूल्य ५० प्रतिशत माथि घटिसकेको छ तर बैंकले मार्जिन कल गर्दा कुनै पनि लगानीकर्ताले पैसा थप गर्न सक्ने अवस्था छैन,’ एक लगानीकर्ताले भने, ‘लगानीर्ताले मार्जिन कल थप गर्न नसकेपछि बैंकहरुले धितोमा राखेका सेयरहरु धमाधम बिक्री गरिदिन थालेका छन् ।’
यो हप्ताको सोमबार धेरैजसो वाणिज्य बैंकहरुको सेयर मूल्य ५२ हप्ताकै तल झरेको थियो भने आधादर्जन वाणिज्य बैंकहरुको सेयर मूल्य प्रतिकिक्ता २ सय रुपैयाँभन्दा कम रहेको थियो । प्रायःजसो कम्पनीको सेयर मूल्य हालसम्मकै कम मूल्यमा झरेको र त्यस्ता सेयरमा मार्जिन कल गर्दा लगानीकर्ताहरुले थप लगानी जुटाउन नसक्ने अवस्था भएका कारण बजारमा बिक्री चाप आएको एक लगानीकर्ताले जानकारी दिए । ‘उच्च ब्याज र राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताले थप लगानी लिन सक्ने अवस्था छैन,’ ती लगानीकर्ताले भने, ‘लगानीकर्ताले धितोमा राखेको सेयरमा मार्जिन थप गर्न नसकेपछि बैंकहरुले आफ्नो लगानी उठाउन जति मूल्यमा खरिदकर्ता पाइन्छ सोही मूल्यमा बिक्री गरिदिन थालेका छन् ।’
अहिले अर्थतन्त्रका सबैजसो क्षेत्रमा मन्दी आएको र त्यसको सबैभन्दा ठूलो मार सेयर बजारमा परेको एक अर्थविद्ले बताए । ‘सेयर बजार लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्दछ, यदि अन्य क्षेत्रमा सुधार आएको थियो भने घट्दो बजारमा लगानीकर्ताले ऋण लिएरै भएपनि सस्तो मूल्यमा सेयर खरिद गर्दथे,’ ती अर्थविद्ले भने, ‘तर अहिले समग्र देश नै आर्थिक मन्दीतर्फ गएको र बजारमा तत्काल सुधार नआउने देखेपछि लगानीकर्ताहरुले थप लगानी गर्न चासो देखाएको देखिँदैन ।’
सोहीअनुरुप बजारमा बिक्री चाप भएपनि कारोबार रकममा उच्च गिरावट आएको छ । कुनै समय दैनिक २२ अर्ब रुपैयाँको सेयर कारोबार भएको बजारमा अहिले १ अर्ब रुपैयाँको पनि सेयर कारोबार हुन छाडेको छ । मंगलबार कारोबार रकम खुम्चिदै ७९ करोड रुपैयाँमा सीमित भएको थियो । देश आर्थिक मन्दीतर्फ भासिदै गएको र लगानीकर्ताको मनोबलमा असर परेका कारण एकदमै सस्तो मूल्यमा सेयर बिक्रीमा राख्दा पनि खरिदकर्ता भेटिन छाडेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।
यदि अवका दिनमा सरकार र राष्ट्र बैंकले पुँजी बजारसम्बन्धी नीति नियममा सुधार नल्याउने हो भने बजार थप पेनिक बन्न पुग्ने एक विश्लेषकले बताए । ‘अहिले लगानीकर्ताहरु हतोत्साहित भएर खरिदकर्ताले जति न्यून मूल्य सेयर खरिद गर्न अर्डर राखेपनि बिक्री गरिदिन थालेका छन्,’ ती विश्लेषकले भने, ‘एकातर्फ उच्च ब्याजका कारण थप कर्जा लिएर मार्जिन रकम राख्न वा सेयर खरिद गर्न सक्ने अवस्था छैन भने अर्कोतर्फ बैंकहरुले आफु घाटामा जाने भएपनि धितोमा राखेको सेयर जतिमा लगानीकर्ता पाउँछन् सोही मुल्यमा बिक्री गरिदिँदा बजार थप पेनिक बन्दै गएको छ ।’